१४, जेठ, कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिका ले चारवटा विधामा सञ्चालन गरेको तीनदिने गाउँपालिका स्तरीय ‘विद्यार्थीहरुको प्रतिभा पहिचान’ कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नं. ५ स्थित सिंहदेवी माध्यमिक विद्यालय को व्यवस्थापनमा विद्यालय परिसरमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भई विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता जेठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

कार्यक्रम अन्तर्गत तेस्रो दिन आयोजित नृत्य प्रतियोगितामा पिनाकल ज्ञान मन्दिर स्कुल प्रथम भएको थियो । त्यसैगरी माउन्ट हर्मोन स्कुल दोस्रो तथा पर्ल एकेडेमी स्कुल तृतीय भएका थिए । सान्त्वना स्थानमा सिंहदेवी मावि र जेनिथ इङ्लिस स्कुल परेका थिए । सामूहिक नृत्यतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार ५ सय र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।गायन प्रतियोगितातर्फ माउन्ट हर्मोन स्कुल प्रथम, आदर्श इङ्लिस स्कुल द्वितीय र स्माल हेभेन स्कुल तृतीय भएका थिए । विजेताहरूलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी अभिनय प्रतियोगितामा सिंहदेवी मावि प्रथम, माउन्ट हर्मोन स्कुल द्वितीय तथा मकालु मोरङ स्कुल तृतीय भएका थिए । अभिनयतर्फ पनि प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।हाजिरीजवाफ प्रतियोगितामा रमाइलो बाल जगत स्कुल प्रथम, सिंहदेवी मावि द्वितीय तथा जनसेवा मावि तृतीय भएका थिए । हाजिरीजवाफतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र ९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष चरण गुरुङ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता अवधिभर गाउँपालिका शिक्षा शाखा प्रमुख चुडामणी रेग्मी, रमेश काफ्ले तथा धर्मराज थापा ले प्रमुख भूमिका निर्वाह गरेका थिए ।