जेष्ठ १४ बिहीबार
रबिन्द्र बराल

मोरङको रङ्गेली ७ काे मुख्य बसपार्कमा यात्रुहरूलाई सहज सेवा दिने उद्देश्यले निर्माण सुरु गरिएको सार्वजनिक शौचालय वर्षौँ बित्दा पनि अलपत्र अवस्थामा पुगेको छ। आर्थिक वर्ष २०७५/०७६ तिर करिब ३० लाख रुपैयाँको लागतमा उपभोक्ता समिति मार्फत निर्माण सुरु गरिएको उक्त शौचालय हालसम्म पूर्ण हुन नसक्दा स्थानीय तथा यात्रुहरू मारमा परेका छन्। बसपार्क क्षेत्रमा अहिले शौचालयको पर्खाल र बाउन्ड्री वाल र वरिपरि झाडीले ढाकेको अवस्था रहेको छ।

निर्माण अधुरै छोडिएपछि उक्त स्थान अहिले प्रयोगविहीन बनेको स्थानीयहरूको गुनासो छ। उपभोक्ता मार्फत शौचालयसँगै पानीको व्यवस्थापनका लागि साेहि स्थानकाे पछाडिपट्टि ५ लाखकाे लागतमा बोरिङ र बिजुलीको मिटर समेत जडान गरिएकाे छ । तर अहिले उक्त पाईप समेत खियालागेर बेकामे बनेको अवस्थामा रहेको पाईएकाे छ ।


“निर्माण सुरु हुँदा छिट्टै सुविधा पाइन्छ भन्ने आशा थियो, तर अहिले त झाडी मात्रै उम्रिएको छ,” एक स्थानीयले गुनासो गरे। बसपार्क जस्तो सार्वजनिक स्थलमा आधारभूत सुविधा नहुँदा नगरपालिकाको कामप्रति प्रश्न उठ्न थालेको छ।