जेष्ठ २१ बिहीबार
रबिन्द्र बराल

मोरङको रंगेलीमा अत्याधुनिक शीतभण्डार (कोल्डस्टोरेज) निर्माण अन्तिम चरणमा पुगेको छ । रंगेलीमा कोशी प्रदेश सरकारको लागतमा साझेदारीमा कोल्डस्टोरेज निर्माणका लागि ७ करोड ४ लाख ४ हजार १३४ रुपैयाँ लागत अनुमान गरिएको थियो।
तर ठेक्का प्रक्रिया मार्फत ४ करोड ९६ लाख ६६ हजार ४५८ रुपैयाँमा सम्झौता भएको थियो। निर्माण कम्पनी दाप्सा सिम्पाने जेभी, चार्लीकोट दोलखाले म्याद थप मागेपछि परियोजनाको लागत करिब ५० लाख रुपैयाँले बढेको जनाइएको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साहका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी असार भित्र सञ्चालन प्रक्रिया अघि बढाइने र उक्त स्टाेरेजमा ६ सय मेट्रिकटन क्षमताको आधुनिक कोल्डस्टोरेज निर्माण गरिएको साहले बताए ।

रंगेलीमा लामो समयदेखि कोल्डस्टोरेज अभाव झेल्दै आएका स्थानीय किसानहरू यसबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा समेत गरिएको छ । रंगेली–७ का कृषक रामनरेश महतोले उत्पादन भएका तरकारी तत्काल बिक्री गर्न नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको तर कोल्डस्टोरेज सञ्चालनमा आएपछि उत्पादन सुरक्षित राख्न सहज हुने विश्वास समेत गरेका छन ।
पुराना प्रविधिका शीतभण्डारमा एउटै हलमा सम्पूर्ण सामग्री राख्नुपर्ने व्यवस्था रहेकामा नयाँ संरचनामा तीन कम्पार्टमेन्टभित्र छ वटा छुट्टाछुट्टै चेम्बर निर्माण गरिएको छ। आवश्यकताअनुसार एउटा मात्रै चेम्बर सञ्चालन गरी बाँकी बन्द राख्न सकिने भएकाले सञ्चालन खर्चमा उल्लेख्य बचत हुने र प्रत्येक चेम्बरको क्षमता ५० मेट्रिकटन रहेको साहले बताए । लामो समयदेखि अधुरो रहेको शीतभण्डारको आवश्यकता पूरा हुन लागेसँगै रंगेली क्षेत्रका किसानहरूले उत्पादनको उचित संरक्षण र बजार व्यवस्थापनमा नयाँ आशा देखेका छन्।