जेठ,२२।कानेपोखरी, मोरङ ।

कानेपोखरी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालित १५ दिने नौमती बाजा सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ।
कानेपोखरी गाउँपालिका वडा नं. २ को प्रधानटोलमा आयोजित समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम ले स्थानीय स्तरमा स्वरोजगारका अवसर सिर्जना गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।उहाँले सीप कुनै जात, धर्म, समुदाय वा वर्ग विशेषमा सीमित नहुने उल्लेख गर्दै प्राप्त सीपलाई सम्मानका साथ आयआर्जन तथा आत्मनिर्भरताको माध्यमका रूपमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

अध्यक्ष इङ्गनामले नौमती बाजाजस्ता सांस्कृतिक तथा परम्परागत सीपको संरक्षण र प्रवर्द्धनमा यस्ता तालिमहरूको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो। उहाँले १५ दिने तालिमले पूर्ण दक्षता हासिल गर्न पर्याप्त नभए पनि यसले आधारभूत ज्ञान र अभ्यासको अवसर प्रदान गरेको बताउँदै सीपको निरन्तर विकासका लागि सहभागीहरूको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले प्राप्त सीपलाई व्यवहारमा रूपान्तरण गरी स्वरोजगारमूलक गतिविधिमा संलग्न हुन सहभागीहरूलाई प्रेरित गर्दै गाउँपालिकाबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका कार्यहरू आगामी दिनमा समेत निरन्तर रूपमा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।


गाउँपालिकाले यस्ता सीपमूलक कार्यक्रममार्फत स्थानीय नागरिकको आर्थिक सशक्तीकरणसँगै परम्परागत कला र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।