जेष्ठ ,२२। शुक्रबार

भारतको उत्तर प्रदेश (यूपी) राज्यको प्रयागराज क्षेत्रमा लामो समयदेखि विभिन्न प्रलोभन देखाएर मोरङको रंगेली, सुनवर्षी लगायतका क्षेत्रका नेपाली युवाहरूलाई राख्ने गरिएको आरोप स्थानीय परिवारजनले लगाएका छन्। आफ्ना छोराछोरीको अवस्था अज्ञात बन्दै गएपछि अभिभावकहरू चिन्तित बनेका छन्।

रंगेली नगरपालिका–९ का बलराम रिखियामका अनुसार उनका छोरा महेश रिखियामलाई चार महिना अघि आकर्षक आम्दानीको प्रलोभन देखाएर भारत गएका थिए। उनका बुबाले सुरुमा ४० हजार रुपैयाँ दिएर पठाइयो, पछि फेरि ३ हजार रुपैयाँ पठाएपछि मात्र मेरो छोरा घर फर्किन सफल भयो,” बलरामले बताए। उनका अनुसार त्यहाँ पुगेका युवाहरूलाई विभिन्न बहानामा नियन्त्रणमा राख्ने गरिएको छ। त्यसैगरी रंगेली ९ का अभिनयु ताजपुरियाले आफ्ना छोरा निरोज ताजपुरिया विगत पाँच महिनादेखि सोही क्षेत्रमा रहेको बताउँदै चिन्ता व्यक्त गरे।

“मैले पटक–पटक घर फर्किन आग्रह गरेँ, तर अहिलेसम्म फर्किएको छैन,” उनले दुःख व्यक्त गर्दै भने। रंगेलीकै सुल्टेन रिसीदेवका छोरा राजी रिसीदेव तीन वर्षअघि सोही स्थानमा गएको र त्यसयता परिवारसँग नियमित सम्पर्क तथा आर्थिक सहयोगसमेत नगरेको सुल्टेनको भनाइ छ। “बारम्बार फोन गर्दा पनि कुनै ठोस खबर पाइँदैन,” उनले गुनासो गरे। केही महिना अघि सोही गाउँका स्थानीय सनोज कुमार ताजपुरिया पनि प्रयागराज पुगेका थिए। उनले आफू त्यहाँको अवस्था असहज भएपछि भागेर नेपाल फर्किएको दाबी गरेका छन्। “त्यहाँ पुगेका धेरै नेपाली युवा विभिन्न आश्वासनमा परेर बसिरहेका छन्।
सम्बन्धित निकायले समयमै ध्यान दिए उक्त नेपालीहरु घर फर्कन सक्ने ताजपुरिया ले बताए। स्थानीयवासीहरूले नेपाली युवाहरूलाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने र लामो समयसम्म राख्ने गतिविधिबारे सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह तथा वैदेशिक रोजगारसँग सम्बन्धित निकायहरूले छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्। परिवारजनले आफ्ना छोराको सुरक्षा र अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न समेत आग्रह गरेका छन्।