जेठ, २८ /बिहीबार

मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोल क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा एक वानटन पिकअप गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ९२२.२ किलोग्राम गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय सोराभागका बीओपी नोचा र बीओपी तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति करिब १२:१५ बजे लक्ष्मनियाबाट तारेगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई निगरानी गरेको थियो।

उक्त गाडीलाई BR३८ Z ७४५२नम्बरको भारतीय मोटरसाइकलले स्कर्टिङ गरिरहेको अवस्थामा प्रहरी टोलीले पछ्याएको जनाएको छ। प्रहरीको उपस्थिती महसुस गरेपछि पिकअप गाडी र मोटरसाइकलका चालकहरू दुवै सवारी साधन छाडेर फरार भएका थिए। त्यसपछि सशस्त्र प्रहरी टोलीले पिकअप गाडी नियन्त्रणमा लिएर जाँच गर्दा धानको भुसको बोराले छोपेर राखिएको अवस्थामा प्रतिबन्धित लागूऔषध गाँजा फेला पारेको थियो।सशस्त्र प्रहरीले गाडीलाई सीमा सुरक्षा गुल्म मुख्यालय सोराभागमा ल्याई विस्तृत जाँच गर्दा २९ वटा पोकामा प्याक गरिएको कुल ९२२.२ किलोग्राम गाँजा बरामद भएको जनाएको छ। बरामद गाँजा, पिकअप गाडी तथा मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।