पथरी शनिश्चे समाचारदाता,
जेठ-३१ गते

मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी–११ फुटबल क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३ आगामी असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक क्लबले आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति तथा तयारीबारे जानकारी दिएको हो।
क्लबका सचिव केशर थुलुङले वार्षिक रूपमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यअनुसार गोल्डकपको तेस्रो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो। उक्त प्रतियोगिता सञ्चालनका लागि ८० लाख रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण समेत सार्वजनिक गरिएको छ। सार्वजनिक बजेटअनुसार प्रतियोगिताको कुल आम्दानी र खर्च दुवै ८० लाख रुपैयाँ रहने अनुमान गरिएको छ। प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

ट्रफी, मेडल, विधागत पुरस्कार तथा अन्य व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको छ। सहभागी टोली व्यवस्थापनका लागि मात्रै २५ लाख रुपैयाँ छुट्याइएको छ भने प्यारापिट निर्माण, रेफ्री पारिश्रमिक, सुरक्षा व्यवस्था, प्रचारप्रसार, फोटो तथा भिडियो सुटिङ, साउण्ड सिस्टम र मैदान व्यवस्थापनलगायत शीर्षकमा पनि खर्च अनुमान गरिएको छ।

आम्दानीतर्फ पथरी शनिश्चरे नगरपालिकाबाट २० लाख रुपैयाँ सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ। साथै मुख्य प्रायोजक, सह–प्रायोजक, विभिन्न व्यवसायिक प्रतिष्ठान, निजी विद्यालय तथा स्वदेश–विदेशमा रहेका शुभेच्छुकहरूबाट सहयोग संकलन गरिने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुमन विकले प्रतियोगिताले फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रवर्द्धन तथा खेल पर्यटनलाई टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रतियोगिता सफल बनाउन सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी, व्यवसायी र खेलप्रेमी सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। पथरी क्षेत्रकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको पथरी शनिश्चरे गोल्डकपको तेस्रो संस्करणलाई लिएर खेलप्रेमीमाझ उत्साह बढ्दै गएको छ।