असार ३, रंगेली ।
रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिका–८ बक्राह डाँगी टोलमा खरिद गरिएको बाबा स्वाईबिन पकाउने क्रममा छेपारो (भित्ती) फेला परेको भन्दै एक परिवारले गम्भीर गुनासो गरेको छ।
स्थानीय झुना कुमारी मण्डलले सोमबार बिहान करिब ८ बजे आफ्ना छोराछोरीलाई विद्यालय पठाउनका लागि खाना पकाउने क्रममा स्वाईबिनको प्याकेटभित्र छेपारो भेटिएको बताइन्। उनले भनिन्, “यदि रातिको समयमा नहेरी पकाएर खाएको भए ठूलो दुर्घटना हुन सक्थ्यो। बिहान खाना बनाउने क्रममा देखिएकाले परिवार सम्भावित जोखिमबाट जोगियो।”


उनको घरमा छोरा गोपाल मण्डल, छोरी दुर्गा कुमारी मण्डल, गोबिन मण्डल, सासू रीता देवी मण्डल तथा ससुरा बासुदेव मण्डल बसोबास गर्दै आएका छन्। परिवारका अभिभावक भागवत मण्डल हाल वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्।
पत्रकारसँगको कुराकानीमा भागवत मण्डलले खाद्य पदार्थभित्र यस्ता वस्तु भेटिनु गम्भीर लापरवाही भएको भन्दै सम्बन्धित निकायले तत्काल छानबिन गर्नुपर्ने माग गरे। परिवारका अनुसार उक्त बाबा स्वाईबिन नजिकैको पसलबाट ५० रुपैयाँमा खरिद गरिएको थियो।


प्याकेटमा उल्लेख भएअनुसार उक्त उत्पादन लक्ष्मी फुड एण्ड स्न्याक्स उद्योग द्वारा उत्पादन गरिएको जनाइएको छ। पीडित परिवारले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन तथा उपभोक्ता संरक्षणसँग सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
घटनाबारे सम्बन्धित उद्योग तथा नियामक निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।