'महिला नगर प्रहरीको भरमा रङ्गेलीको दमकल सेवा ।।थारू पाेर्टल'

June 29, 2026

विज्ञापन
No data was found

असार १५ सोमबार
रबिन्द्र बराल


अधिकांश स्थानीय तहमा दमकल सञ्चालन र आगलागी नियन्त्रणको जिम्मेवारी पुरुष सुरक्षाकर्मीले सम्हाल्ने प्रचलन रहँदै आएको छ। तर मोरङको रङ्गेली नगरपालिकाले भने त्यसलाई चुनौती दिँदै महिला नगर प्रहरीलाई दमकल सञ्चालनको जिम्मेवारी दिएको छ।

 

यो अभ्यास अहिले प्रभावकारी मात्र होइन, अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्दै गएको छ। महिला नगर प्रहरीहरू दमकल सञ्चालनदेखि आगलागी नियन्त्रणसम्मका सबै कार्यमा सक्रिय रूपमा खटिँदै आएका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साहका अनुसार आगलागीको सूचना प्राप्त भएको पाँचदेखि सात मिनेटभित्रै, दूरीअनुसार, दमकल घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ।

रङ्गेली नगरपालिकाले आफ्नै क्षेत्र मात्र नभई धनपालथान गाउँपालिका, कटहरी गाउँपालिका, रतुवामाई नगरपालिका तथा सुनवर्षी नगरपालिका , कानेपाेखरी लगायतका स्थानीय तहमा हुने आगलागी नियन्त्रणमा समेत सेवा दिँदै आएको छ। दमकल सेवा अन्तरस्थानीय सहयोगको सफल नमुनाका रूपमा स्थापित हुँदै गएको देखिन्छ।

प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार आगलागी नियन्त्रणमा खटिने टोलीलाई प्रत्येक घटनापछि रु. १० हजार प्रोत्साहन भत्ता उपलब्ध गराइन्छ, जुन टोलीका सदस्यबीच बाँडफाँट गरिन्छ। यसले जोखिमपूर्ण सेवामा खटिने जनशक्तिको मनोबल बढाउन सहयोग पुगेको उनको भनाइ छ। नगर महिला प्रहरी सुनिता पौडेलका अनुसार सूचना प्राप्त हुनासाथ आफूहरू दिन-रात नभनी तत्काल दमकल लिएर घटनास्थलतर्फ प्रस्थान गर्ने गरेका छन्। आगो नियन्त्रणका क्रममा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीहरूको सहयोगले काम अझ प्रभावकारी बन्ने गरेको उनले बताइन्। नगरपालिकाको यो अभ्यास केवल दमकल सञ्चालनको विषय मात्र होइन, महिला नेतृत्व, लैङ्गिक समानता र स्थानीय सरकारको नवप्रवर्तन को उदाहरण पनि हो।

वर्षौंदेखि जोखिमपूर्ण र शारीरिक रूपमा चुनौतीपूर्ण मानिने दमकल सेवामा महिलाले सफलतापूर्वक नेतृत्व सम्हाल्नुले महिलाको क्षमता कुनै पनि क्षेत्रमा कम छैन भन्ने स्पष्ट सन्देश दिएको छ। यसले समाजमा रहेको लैङ्गिक पूर्वाग्रहलाई तोड्न महत्वपूर्ण भूमिका खेलेको छ। यद्यपि, यस्तो कार्यलाई अझ प्रभावकारी बनाउन महिला नगर प्रहरीलाई नियमित उन्नत अग्नि नियन्त्रण तालिम, आधुनिक सुरक्षा उपकरण, पर्याप्त बीमा सुविधा तथा, मनोसामाजिक सहयोग उपलब्ध गराउनु आवश्यक देखिन्छ। आगलागी नियन्त्रण अत्यन्त जोखिमपूर्ण सेवा भएकाले उनीहरूको सुरक्षा र क्षमता अभिवृद्धिमा निरन्तर लगानी गर्नुपर्ने आवश्यकता छ। यो अभ्यासले स्थानीय सरकार इच्छाशक्ति भए परम्परागत सोच परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। महिला नगर प्रहरीको नेतृत्वमा सञ्चालन भइरहेको दमकल सेवा आज रङ्गेलीको पहिचान मात्र होइन, देशभरका स्थानीय तहका लागि प्रेरणादायी नमुना बन्दै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.