'पञ्चायत माविमा अभिभावक भेला: पूर्व शिक्षक र कोषदाताहरू सम्मानित।थारू पाेर्टल'

July 5, 2026

विज्ञापन
No data was found

पथरी शनिश्चरे समाचारदाता

पथरी शनिश्चरे, २१ असार

मोरङको पथरी शनिश्चरे-१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले एक भव्य समारोहका बीच अभिभावक भेला, सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको आफ्नै प्राङ्गणमा शनिबार आयोजित उक्त कार्यक्रममा विद्यालयको मुखपत्र ‘पञ्चायत वाणी’ को लोकार्पण समेत गरिएको थियो।

कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनमा लामो समय योगदान पुर्‍याएर अवकाश पाएका पूर्व शिक्षकहरू वेदनिधि गड्तौला, गुरूप्रसाद दहाल, दिनेश कुमार सुवेदी र बुद्धिनाथ अधिकारीलाई फूलमाला, अबीर र दोसल्ला ओढाएर सम्मान पत्रसहित विशेष सम्मान गरिएको थियो। सम्मानित शिक्षकहरूमध्ये गड्तौला, दहाल र सुवेदीले उमेर हदका कारण तथा अधिकारीले स्वेच्छिक अवकाश लिएका हुन्।

विभिन्न अक्षय कोषदाताहरू पनि सम्मानित

सोही अवसरमा विद्यालयमा स्थापित विभिन्न स्मृति तथा कल्याणकारी कोषका दाताहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा सीतादेवी गड्तौला स्मृति कोष, प्रेम गीता बुढाथोकी स्मृति कोष, ईन्द्र कमल बास्कोटा विद्यार्थी कल्याण कोष र नवीन ढकाल स्मृति कोषका दाताहरू रहेका छन्।

यसैक्रममा, भर्खरै अवकाश प्राप्त पूर्व शिक्षक बुद्धिनाथ अधिकारीले आफ्नी स्वर्गीय हजुरआमा कृष्णमाया अधिकारीको स्मृतिमा विद्यालयमा ७५ हजार रुपैयाँ बराबरको नयाँ अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ।

‘कोशी प्रदेशकै नमुना विद्यालय’

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले शिक्षक वर्गको अहोरात्र खटाइ र अभिभावकहरूको सक्रियताकै कारण पञ्चायत मावि कोशी प्रदेशकै नमुना विद्यालयका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो।

प्रमुख अतिथि नगरप्रमुख तुम्बापोले विद्यालयले अब्बल साख जोगाउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा कायम राख्न विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीको त्रिपक्षीय समन्वय आवश्यक रहने कुरामा जोड दिनुभयो।

त्यस्तै, नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले विद्यालयले थुप्रै आरोह-अवरोह पार गर्दै यो उचाइ हासिल गरेको स्मरण गराउँदै यसको गरिमालाई जोगाइराख्न अभिभावक र विद्यार्थीको भूमिका सधैँ महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.