असार।२१।कानेपोखरी, मोरङ ।
विद्यानन्द

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित बयरवन खानेपानी तथा सरसफाइ आयोजनाको स्वामित्व औपचारिक रूपमा उपभोक्ता समितिकाअध्यक्ष विजयगोपाल गड्तौलालाई हस्तान्तरण गरिएको छ । कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरी (इटहरी) ले आयोजना सम्पन्न गरी समितिलाई स्वामित्व सुम्पेको हो ।

आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीका डिभिजन प्रमुख विकास काफ्लेले संयुक्तरुपमा बयरवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विजयगोपाल गड्तौलालाई स्वामित्व-पत्र हस्तान्तरण गर्नुभयो ।

स्वामित्व हस्तान्तरण भएसँगै अब यस आयोजनाको सञ्चालन, संरक्षण, मर्मत–सम्भार तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समिति आफैँले सम्हाल्नेछ ।
६ करोड ३३ लाखको लागत, के-के बने पूर्वाधार?
हस्तान्तरण गरिएको स्वामित्व–पत्र अनुसार यस बृहत् खानेपानी आयोजनाको कुल लागत ६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहेको छ । आयोजना अन्तर्गत उपभोक्ताहरूका लागि गुणस्तरीय खानेपानी वितरण गर्न निम्न पूर्वाधारहरू निर्माण गरिएका छन्:
पानी संकलन तथा प्रशोधन संरचना र बोरिङवडा नं. ७, ६ र ४ का विभिन्न क्षेत्रमा पाइपलाइन विस्तार२२ सय घरधुरीमा मिटरसहितको धारा जडानउपभोक्ता समितिको कार्यालय भवन, चौतारा तथा कम्पाउण्ड वालसौर्य ऊर्जा प्रणाली (सोलर सिस्टम) र ६२.५ केभीए क्षमताको ब्याकअप जेनेरेटरआपतकालीन अवस्थाका लागि फायर हाइड्रेन्ट
यस आयोजनाबाट कानेपोखरी गाउँपालिकाका वडा नं. ७, ६ र ४ का करिब २२ सय घरधुरीका स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । स्वामित्व ग्रहण गर्दै समितिका अध्यक्ष विजयगोपाल गड्तौलाले उपभोक्ताहरूलाई सुरक्षित, स्वच्छ र दिगो खानेपानी सेवा उपलब्ध गराउँदै पानीका स्रोतको संरक्षण र उपभोक्तामुखी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कसले के भने?
कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष राजमति इङ्नामले गाउँपालिकाभित्र स्वच्छ खानेपानीको पहुँच पुग्नु गौरवको विषय भएको बताउँदै आयोजनाको दिगोपनका लागि पालिकाले आवश्यक सहकार्य गर्ने उल्लेख गर्नुभयो । त्यस्तै, विशिष्ट अतिथि डिभिजन प्रमुख विकास काफ्लेले उपभोक्ता समितिले यसको कुशल व्यवस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कानेपोखरी वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, कानेपोखरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खगेश्वर खतिवडा, ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका सचिव केदार राई, दहिलामी चौरी सामुदायिक वनका अध्यक्ष त्रिभूनाथ नेपाल, र कानेपोखरी अस्पतालका प्रशासन प्रमुख रोहिन्द्रकुमार राजभण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
उपभोक्ता समितिका अध्यक्ष विजयगोपाल गड्तौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन एविन पाठकले गर्नुभएको थियो ।