साउन ।२३ ।

माेरङकाे रंगेली ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैंक लिमिटेड रंगेली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम लाई निरन्तरता दिदै आईरहेकाे छ । संस्थाले रंगेली ६ मा रहेको श्री पब्लिक माध्यमिक विद्यालयमा अध्यनरत छात्र, छात्राहरुलाई भेस्ट वितरण गरेको छ। नर्सरीदेखि कक्षा ५ सम्ममा अध्ययनरत आधारभूत तहका ३सय १ जना विद्यार्थीलाई भेस्ट बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरूको उत्साह र विद्यालयप्रतिको आकर्षक हुने र बालबालिकाहरुलाई समेत पठनपाठनमा अभिवृद्धि गर्ने उद्देश्यले बैंकले भेष्ट बितरण गरेको हाे । लुम्बिनी विकास बैंक रङ्गेली शाखाका प्रबन्धक दुर्गेश रोनियारले बैंक वित्तीय कारोबारमा मात्र सीमित नरही शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत निरन्तर योगदान गर्दै आएको समेत बताए। उक्त संस्थाले केही साताअघि सुनवर्षी नगरपालिकाको एक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि समुदायको आवश्यकताअनुसार यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिदै लैजाने बताए ।

विद्यालयका प्रधानाध्यापक अर्विन कुमार साह ले बैंकले गरेको सहयोगले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थपिएको बताउँदै सामुदायिक विद्यालयप्रति निजी क्षेत्रको यस्तो सहयोग पाउनु निकैनै राम्रो रहेको र यस्ताे कार्यक्रमले विद्यार्थीको मनोबल बढाउनुका साथै अभिभावकमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने ठुलाे मद्दत पुग्ने बताए । वडा अध्यक्ष सुजित मण्डलले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गरेको सहयोगको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा निजी क्षेत्रको सहभागिता अझ विस्तार हुनुपर्ने र सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले अन्य संस्थालाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रममा बैंकका कर्मचारी सन्तोष मेहता, छविलाल पोखरेल, विद्यालयका शिक्षक धर्मध्वज पौडेल, इन्जिनियर शाखाका प्रमुख कमलेश्वर ठाकुर, स्थानीय भुपेन्द्र यादव, बुद्धिजीवी, समाजसेवी, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। यसैबीच, शिक्षा क्षेत्रमा पुर्याएको योगदान तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गरेको भन्दै विद्यालयले लुम्बिनी विकास बैंक रङ्गेली शाखाका प्रबन्धकलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो।