कानेपोखरी, असार ३० गते ।

मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ स्थित केरौन चोकमा एक स्थानीय युवकमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ। कानेपोखरी–२ सिद्धार्थटोलमा बसोबास गर्दै आएका होम बहादुर पौडेलका ३२ वर्षीय छोरा कमल बहादुर पौडेलमाथि स्थानीय केही व्यक्तिहरूको समूहले मरणासन्न हुने गरी कुटपिट गरेको हो।
घटना भएको लामो समय बितिसक्दा पनि इलाका प्रहरी कार्यालय (रमाइलो प्रहरी चौकी) ले कुटपिटमा संलग्न आरोपीहरूलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दाले आक्रोश र असन्तुष्टि व्यक्त गरेका छन्।
टाउको र घाँटीमा गहिरो चोट वडा अध्यक्षका अनुसार कुटपिटबाट घाइते कमलको टाउकोको पछाडिको भाग र आँखाको डिल (घाँटीमा गहिरो चोट लागेको छ। घटनालगत्तै उनलाई प्राथमिक उपचारका लागि कानेपोखरी अस्पताल पुर्याइएको थियो। अस्पतालले घाइतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुविधासम्पन्न अन्य अस्पतालमा लैजान (रेफर गर्न) सुझाव दिएको थियो। यद्यपि, बिरामीका आफन्तहरूले भने थप उपचारका लागि नलगी हाल उनलाई घरमै राखेको जानकारी वडा अध्यक्षले दिएका छन्।
सवारी चालकहरूको अमानवीय व्यवहार घटनापछि गम्भीर घाइते भएका पौडेललाई तत्काल अस्पताल पुर्याउनका लागि केरौन चोकमा उपस्थित स्थानीयले त्यहाँ पार्किङ गरी राखिएका सिटी सफारी तथा टेम्पो चालकहरूसँग सहयोग मागेका थिए। तर, प्रत्यक्षदर्शीका अनुसार अधिकांश चालकहरूले घाइतेलाई अस्पताल लैजान साफ इन्कार गर्दै आफ्ना सवारी साधन नै लिएर त्यहाँबाट भागेका थिए।
आपत्कालीन अवस्थामा घाइतेको ज्यान बचाउन सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भए पनि सवारी चालकहरूले देखाएको यस्तो गैरजिम्मेवार र अमानवीय व्यवहारप्रति स्थानीयले तीव्र निन्दा गरेका छन्। उनीहरूले भविष्यमा यस्ता संकटपूर्ण घडीमा सबैलाई जिम्मेवार र संवेदनशील बन्न समेत आग्रह गरेका छन्।
घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कुटपिटको वास्तविक कारण पत्ता लगाउन र दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय बासिन्दाले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन्।