'डिजे बजाउने विषयमा सुरु भएको विवाद झडपमा परिणत, प्रहरीको गोली लागेर एक युवाको मृत्यु र हालकाे अव्स्था तनाब र कर्फु ।थारू पाेर्टल'

July 27, 2026

विज्ञापन
No data was found

साउन।११।

 सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राको तयारीका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा एक युवाको मृत्यु भएको छ भने स्थानीय र प्रहरी दुवैतर्फ गरी १६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि शिवभक्तहरूको एक समूह राति डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले मध्यरातमा डिजे बजाएर होहल्ला नगर्न आग्रह गरेपछि दुवै पक्षबीच भनाभन सुरु भएको थियो। सामान्य विवाद केहीबेरमै उग्र बन्दै झडपमा परिणत भएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज निवासी २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटनामा प्रहरीको गोली लागेर तथा झडपका क्रममा आठ जना स्थानीय युवा घाइते भएका छन्। त्यस्तै, प्रदर्शनकारीको आक्रमणबाट नेपाल प्रहरीका आठ जना सुरक्षाकर्मी पनि घाइते भएको जनाइएको छ।

झडपका क्रममा कप्तानगञ्ज बजार क्षेत्रमा रहेका केही घर, मेडिकल पसल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको छ। घटनापछि क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण, प्रहरीको गोली चलाउनुपरेको अवस्था तथा मृत्यु भएको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।

कप्तानगन्ज घटनाको विरोधमा सुनसरी सदरमुकाम इनरुवामा आन्दोलन  सुनसरीको लौकही सहित मधेस प्रदेशका विभिन्न स्थानमा प्रदर्शन समेत जारी छ ।कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.