'फोनिज मोरङको २७औँ स्थापना दिवस: पत्रकार लिम्बु पुरस्कृत, २५० जनाको आँखा परीक्षण ।थारू पाेर्टल'

August 8, 2026

विज्ञापन
No data was found

कानेपाेखरी।साउन।२४

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आफ्नो २७औँ स्थापना दिवस सामाजिक उत्तरदायित्व र पत्रकारिताको सम्मानलाई जोड्दै भव्य रूपमा मनाएको छ। पथरीशनिश्चरे नगरपालिका-९, रिगुवास्थित सिंहबहिनी माध्यमिक विद्यालयमा शनिबार आयोजित एक विशेष समारोहका बिच पुरस्कार वितरण तथा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो।

फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षता तथा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

पत्रकार भक्तसेर लिम्बुलाई ‘कृष्ण देवान स्मृति पुरस्कार’ स्थापना दिवसका अवसरमा फोनिज प्रदेश लेखा समिति संयोजक प्रेम देवानका स्वर्गीय पिता कृष्ण देवानको स्मृतिमा स्थापित ‘कृष्ण देवान स्मृति पुरस्कार’ पत्रकार भक्तसेर लिम्बुलाई प्रदान गरिएको छ। फोनिज प्रदेश-१ का निवर्तमान इन्चार्ज तथा मोरङका पूर्वअध्यक्ष लिम्बुलाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद रु. ८ हजार, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरियो।

उक्त पुरस्कार नगरप्रमुख मोहनप्रसाद तुम्बापो र पुरस्कारका संरक्षक प्रेम देवानले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो। गत वर्षदेखि सुरु गरिएको यो पुरस्कार पहिलो पटक फोनिजका संघीय उपाध्यक्ष अर्जुन जम्मेली राईलाई प्रदान गरिएको थियो।

शिविरमा २५० जनाको आँखा परीक्षण, २५ जनामा मोतियाबिन्दु कार्यक्रमको अवसरमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट २५० जना स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएका छन्। परीक्षण गरिएकामध्ये २५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको र उहाँहरूलाई विराटनगरस्थित विराट रानी आँखा अस्पतालमा थप उपचारका लागि सहजीकरण गरिने आयोजकले जनाएको छ। शिविरमा बिरामीहरूलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोग तथा शिवोम मेडिको विराटनगरको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा सहयोग पुर्‍याउने शिवोम मेडिकोका सञ्चालक देशबन्धु ढकाल र विराट रानी आँखा अस्पताललाई समेत सम्मान गरिएको थियो।

समुदाय र पत्रकारिताको सम्बन्ध बलियो बनाउने प्रयास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मोहनप्रसाद तुम्बापोले फोनिजको सामाजिक तथा समुदायमुखी कामको प्रशंसा गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो। सिंहबहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमेश खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पुरस्कृत व्यक्तित्व भक्तसेर लिम्बु, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवती निरौला तथा नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

फोनिज मोरङका सचिव विद्यानन्द चौधरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमले समुदाय र पत्रकारिताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको आयोजकले जनाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.