साउन। २३ शनिवार

समाजमा परिवर्तन ल्याउन सधैं ठूलो पद, ठूलो संस्था वा ठूलो सम्पत्ति नै आवश्यक पर्दैन। दृढ इच्छाशक्ति, सेवाभाव र अरूको दुःखमा साथ दिने मन भए पुग्छ भन्ने उदाहरण बनेका छन् रतुवामाई नगरपालिकाका समाजसेवी तथा बुद्धिजीवी बलबहादुर बस्नेत।विगत लामो समयदेखि बस्नेतले आफ्नै मेहनतबाट कमाएको रकमको एक हिस्सा शिक्षा, स्वास्थ्य, धार्मिक तथा सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन्।

उनी प्रचारप्रसारभन्दा सेवामा विश्वास गर्ने व्यक्तिका रूपमा स्थानीय समाजमा परिचित छन्। सामुदायिक विद्यालयका विद्यार्थी, आर्थिक अभावमा रहेका परिवार, मठमन्दिर तथा विभिन्न सामाजिक संस्थालाई आवश्यकता अनुसार सहयोग पुर्याउँदै आएका कारण उनी रतुवामाईका धेरै नागरिकका लागि प्रेरणाको स्रोत बनेका छन्। हालै पनि उनले आफ्नो सहयोग यात्रालाई निरन्तरता दिँदै रतुवामाई–८ स्थित दाम्राभिट्टा जुम्बा डान्स सेन्टरलाई ८५ थान टिसर्ट प्रदान गरे। त्यस्तै रतुवामाई–५ स्थित आधारभूत विद्यालय लारिकट्टाका विद्यार्थीलाई १०८ थान विद्यालय पोसाक (टिसर्ट) तथा रतुवामाई–६ स्थित ओमकारेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई ३६ थान विद्यालय पोसाक (टिसर्ट) वितरण गरे।

उनले रतुवामाई–५ निवासी पूर्णबहादुर लिम्बुको विपन्न परिवारलाई एक थान खाट, एक थान त्रिपाल र एक थान म्याट उपलब्ध गराउँदै मानवीय संवेदनाको परिचयसमेत दिएका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंह, सिजुवा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कैलाश लिम्बु, रतुवामाई नगरपालिकाका शिक्षा अधिकृत रविन्द्र पण्डित लगायत जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, शिक्षक, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयका अनुसार बस्नेतले वर्षौंदेखि कसैको आग्रह वा प्रचारको अपेक्षा नगरी सामाजिक उत्तरदायित्वलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएका छन्।
विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि पोसाक, शैक्षिक सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउनुका साथै विपन्न परिवारलाई दैनिक जीवनमा आवश्यक सामग्री प्रदान गर्दै आएका छन्। धार्मिक तथा सामाजिक गतिविधिमा पनि उनको सक्रिय सहभागिता रहने गरेको स्थानीय बताउँछन्। समाजसेवामा उनको निरन्तर सक्रियताका कारण रतुवामाईका युवा, ज्येष्ठ नागरिक, अभिभावक, शिक्षक तथा विद्यालयका प्रधानाध्यापकहरूबीच उनले विशेष सम्मान र विश्वास कमाएका छन्।
धेरै स्थानीयले बस्नेतलाई “आफ्नो कमाइ समाजकै हितमा खर्च गर्ने समाजसेवी”का रूपमा चिन्ने गरेका छन्। सहयोग प्राप्त गर्ने परिवार र संस्थाहरूले उनको सेवाभावले आफूहरूलाई राहत मात्र नभई आत्मबल पनि दिएको प्रतिक्रिया दिएका छन्।समाजमा व्यक्तिगत जिम्मेवारी र सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउन बस्नेतका यस्ता कार्य प्रेरणादायी बनेका छन्।
सहयोगको मूल्य रकमले होइन, त्यसमा रहेको सद्भाव र मानवीय भावनाले निर्धारण गर्छ भन्ने सन्देश उनको जीवनशैलीले दिएको स्थानीयको भनाइ छ। सामाजिक सेवालाई निरन्तरता दिँदै आएका बलबहादुर बस्नेतजस्ता व्यक्तित्वको योगदानले समाजमा सहयोग, सहकार्य र मानवीयताको संस्कृतिलाई थप मजबुत बनाइरहेको छ। आफ्नै कमाइबाट अरूको अनुहारमा मुस्कान ल्याउने उनको यात्रा आज रतुवामाईका लागि मात्र होइन, समग्र समाजका लागि अनुकरणीय उदाहरण बनेको छ।