

धिमालका अनुसार उनी दैनिक गाउँपालिकाको आसपासका सडकमा करिब २० किलोमिटर दौडिन्छन्। कहिलेकाहीँ रमाइलो चोकदेखि रंगेली बजारसम्म पुगेर फर्किने गरेका छन्। उनका लागि दौड केवल प्रतियोगिताका लागि मात्र नभई स्वस्थ जीवनशैलीको महत्वपूर्ण हिस्सा बनेको छ।
“दौड शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य र वजन नियन्त्रणका लागि अत्यन्त प्रभावकारी र सहज व्यायाम हो,” धिमाल भन्छन्। नियमित दौडले मुटु र फोक्सोलाई बलियो बनाउनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने उनको अनुभव छ।
धिमालले २०७५ सालदेखि मोरङसहित जिल्लाका विभिन्न स्थानमा आयोजना हुने म्याराथन तथा रन प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। प्रतियोगितामा प्रथम वा द्वितीय स्थान हासिल नगरे पनि तोकिएको समयभित्र दौड पूरा गर्नु नै आफ्नो मुख्य उपलब्धि भएको उनी बताउँछन्।

हाल धिमाल मात्र नभई कानेपोखरी क्षेत्रमा अन्य युवाहरू तथा परिवारका सदस्यसमेत दौडप्रति आकर्षित हुन थालेका छन्। कानेपोखरी–२ का सन्दिप चौधरी र धिमालकी छोरी खुशी धिमाल पनि नियमित बिहान दौडने तथा विभिन्न म्याराथन प्रतियोगितामा सहभागी हुने गरेका छन्। अहिले कानेपोखरी क्षेत्रमा करिब पाँच जना नियमित रूपमा दौड तथा म्याराथनमा सहभागी हुने गरेको धिमालले बताए।

धिमालले हालसम्म लेटाङ रन, धरान रन, सुन्दरहरैँचा रन, तरहरा रन, इनरुवा रन, केर्खा रन र मिक्लाजुङ रनलगायतका प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। अब भदौको अन्तिममा झापाको गौरीगञ्जमा आयोजना हुने १६ किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी हुने तयारीमा रहेको उनले बताए।
उमेर बढ्दै गए पनि नियमित व्यायाम र सकारात्मक सोचले शरीरलाई सक्रिय र स्वस्थ राख्न सकिने सन्देश धिमालले आफ्नो निरन्तर दौडमार्फत दिइरहेका छन्। उनको दौडप्रतिको लगावले कानेपोखरी क्षेत्रमा स्वस्थ जीवनशैली र दौड संस्कृतिको विकासमा समेत प्रेरणा थपेको छ।