कानेपोखरी, भदाै।६
विद्यानन्द चाैधरी
कानेपोखरी गाउँपालिका–६ स्थित पर्ल एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै सञ्चारकर्मी तथा शिक्षकलाई सम्मान र बिदाइ गरेको छ।
रमाइलाे जनएकता साकाेसकाे सभाहलमा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दै स्वागत गरेका थिए। नयाँ विद्यार्थीलाई विद्यालय परिवारमा आत्मीयताका साथ स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको शुभकामना दिइएको थियो।

कार्यक्रममा विद्यालयको उच्च माध्यमिक तह (प्लस टु) स्थापना तथा सञ्चालनमा सहयोग पुर्याउँदै आएका सञ्चारकर्मीहरू दिनेश सुब्बा, विद्यानन्द चौधरी, सनम रोक्का, भोला भट्टराई, विवेक खतिवडा र दुर्गेश खतिवडालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

त्यसैगरी, व्यक्तिगत व्यस्तताका कारण विद्यालयमा निरन्तरता दिन नसक्ने भएपछि शिक्षकद्वय प्रदीप गुरागाईँ र दर्पण घिमिरेलाई सम्मानपत्रसहित बिदाइ गरिएको थियो। विद्यालयमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई आगामी यात्राका लागि शुभकामना दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका–६ का वडाध्यक्ष खड्ग बस्नेतले कानेपोखरी क्षेत्रका विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीयस्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले कक्षा ११ र १२ मा विभिन्न विषय अध्ययन गर्ने उपयुक्त वातावरण निर्माण गर्न विद्यालय, स्थानीय सरकार, शिक्षक, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
विद्यालयले नवआगन्तुक विद्यार्थीको स्वागतसँगै योगदान गर्ने सञ्चारकर्मी तथा शिक्षकलाई सम्मान र बिदाइ गरेर आपसी सम्बन्ध, सहकार्य र योगदानको कदर गर्ने संस्कारलाई निरन्तरता दिएको छ। संचालक हाेम कुमार मतेले २०८२साल देखी नयाँ ठाउँमा ३० र ३० गरी ६०जना विद्यार्थीहरूलाइ पठन पाठन गराउदै हुनुहुन्छ । कार्यक्रम प्रदिप कार्कीकाे अध्यक्षतामा संचालन भएकाे थियाे भने नगेन्द्र राजबंशीकाे संचालन रहेकाे थियाे भने पानसमा दीप तथा ब्यानर बाचन गरे्र समुदघाटन गरिएकाे थियाे ।।।।।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।