मेनु

स्वास्थ्य बिमामा  पुरुषको समेत पाठेघर निकालिएको विवरण भेटियाे ।थारू  पाेर्टल

स्वास्थ्य बिमामा  पुरुषको समेत पाठेघर निकालिएको विवरण भेटियाे ।थारू  पाेर्टल

भदौ। ६, शनिबार 

रबिन्द्र बराल 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निसा मेहता रङ्गेलीस्थित तिरुपति बालाजी मन्दिरको प्राङ्गणमा जहदा, धनपालथान, रङ्गेली, सुनवर्षी तथा रतुवामाई, लगायतका पालिकाका पदाधिकारी, संगठनमा आबद्ध सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रममा स्वास्थ्य सेवा, खाद्य स्वच्छता, स्वास्थ्य बिमा तथा स्थानीय तहका समसामयिक स्वास्थ्य समस्याबारे छलफल गरिएको  थियो। छलफलका क्रममा मन्त्री मेहताले स्वास्थ्य बिमामा विगतमा देखिएका अनियमितता, दोहोरो दाबी तथा अस्वाभाविक उपचार विवरणका कारण गम्भीर समस्या देखिएको बताइन्। उनका अनुसार स्वास्थ्य बिमासम्बन्धी कागजात जाँच गर्ने क्रममा पुरुषको समेत पाठेघर निकालिएको उल्लेख भएको विवरण फेला परेको छ।

त्यस्तै, एउटै व्यक्तिको एक साताभित्र पाँच पटकसम्म एमआरआई गरिएको रिपोर्टसमेत भेटिएको मन्त्री मेहताले बताइन्। यस्ता डुप्लिकेट तथा अस्वाभाविक दाबीका कारण निजी क्षेत्रका अस्पतालमा स्वास्थ्य बिमा सेवा रोक्नुपरेको उनले स्पष्ट पारिन्। मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रम नै बन्द नभएको स्पष्ट पार्दै निजी अस्पतालमा मात्रै स्वास्थ्य बिमा सेवा रोकिएको बताइन्। उनका अनुसार अघिल्लो सरकारले अस्पतालहरूलाई स्वास्थ्य बापतको करिब १८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी राख्दा समस्या सिर्जना भएको थियो।

रकम भुक्तानीमा ढिलाइ हुँदा कतिपय अस्पतालले समेत स्वास्थ्य बिमा सेवा बन्द गरेको उनको भनाइ थियो। वर्तमान सरकारले फागुन सम्मको बिमा रकम पहिलो पटक भुक्तानी भएको र अब करिब अढाई महिनाको रकम मात्र भुक्तानी गर्न बाँकी रहेको मन्त्री मेहताले जानकारी दिइन्। उनका अनुसार प्रत्येक महिना करिब साढे दुई अर्ब रुपैयाँ बराबरको स्वास्थ्य बिमा दाबी आउने गरेको छ। मन्त्री मेहताले उपचारमा मात्रै निर्भर नभई रोग न्यूनीकरणका लागि नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा समेत जोड दिइन्। नियमित व्यायाम र स्वस्थ खानपानले धेरै स्वास्थ्य समस्या कम गर्न सकिने उनको भनाइ थियो। प्रदेश सरकारलाई प्रत्यक्ष रूपमा निर्देशन दिन नमिल्ने उल्लेख गर्दै मन्त्री मेहताले प्रदेशस्तरमा चिकित्सक पठाउने र प्रदेशका सचिवहरूले आवश्यकताअनुसार विभिन्न अस्पतालमा चिकित्सक खटाउने व्यवस्था रहेको जानकारी दिइन्।

उनले भनिन्, “हामी सहयोग गर्न सक्छौँ, तर प्रदेशलाई निर्देशन दिन मिल्दैन।”वर्तमान सरकारले सातै प्रदेशका दुर्गम क्षेत्रमा चिकित्सक पठाउन सफलता हासिल गरेको दाबीसमेत उनले गरिन्। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूमा मुटुसम्बन्धी समस्या बढी देखिने गरेको उल्लेख गर्दै उनले ७० वर्षभन्दा माथिका मिर्गौला तथा पिडासम्बन्धी बिरामीलाई उपचारका लागि पाँच लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिइन्। कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधि तथा संगठनमा आबद्ध सदस्यहरूले स्थानीय तहमा स्वास्थ्य सेवाको अवस्था, स्वास्थ्य बिमा, चिकित्सकको उपलब्धता तथा स्वास्थ्य क्षेत्रका समस्या र चुनौतीबारे आफ्ना धारणा तथा सुझाव राखेका थिए।

कार्यक्रममा प्रदेश महामन्त्री निरज ढकाल, प्रदेश सह–महामन्त्री सुरेन्द्र काफ्ले, प्रदेश सदस्यहरू ललितकला पन्थी, शेखर लामिछाने र युवराज कँडेल, जिल्ला सचिव दिपेश नेपाल, प्रत्यक्ष निर्वाचन क्षेत्र नं. २ का सभापति प्रमोद कुँवर, अर्थसम्बन्धी विभाग सदस्य विवेक कुँवर तथा रङ्गेली नगर अध्यक्ष हरेन्द्र बराल लगायतको उपस्थिति रहेको थियो।यसै क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निसा मेहताले रङ्गेली अस्पतालको समेत निरीक्षण गरेकी थिइन्।

 

निरीक्षणका क्रममा अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीको अवस्था, उपचार सेवा, पूर्वाधार तथा बिरामीले भोगिरहेका समस्याबारे जानकारी लिँदै आवश्यक सुधारका विषयमा सम्बन्धित पक्षसँग छलफल गरेकी थिइन्। मन्त्री मेहताले अस्पतालबाट स्थानीय नागरिकले पाउने स्वास्थ्य सेवाको गुणस्तर प्रभावकारी बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै स्वास्थ्य संस्थालाई थप व्यवस्थित र सेवामुखी बनाउनुपर्नेमा जोड दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।