मेनु

बीमा सेवा व्यवस्थित र बीमितमैत्री बनाउन प्राधिकरणको निर्देशन। थारू पाेर्टल

बीमा सेवा व्यवस्थित र बीमितमैत्री बनाउन प्राधिकरणको निर्देशन। थारू पाेर्टल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवालाई थप व्यवस्थित, पारदर्शी र बीमितमैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ।

कोशी प्रदेश कार्यालयमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा बधाई दिँदै आगामी आर्थिक वर्षका कार्ययोजना, बीमा व्यवसायका चुनौती तथा सेवा सुधारका विषयमा छलफल गरिएको हो। कार्यक्रममा कोशी प्रदेशमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख महर्जनले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि अभिकर्तालाई थप जिम्मेवार, व्यावसायिक र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो। बीमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर बीमा योजना बिक्री गर्ने अभिकर्ताले बीमालेखका सर्त, जोखिम, कभरेज, दाबी प्रक्रिया, ल्याप्स तथा सरेन्डरसम्बन्धी व्यवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने उहाँले बताउनुभयो।

मिससेलिङ अर्थात् गलत वा अपूर्ण जानकारी दिएर बीमा बिक्री गर्ने प्रवृत्ति न्यूनीकरणका लागि अभिकर्तालाई जिम्मेवार बनाउने गरी ‘डिक्लेरेसन फर्म’ विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने महर्जनले बताउनुभयो। बीमितलाई आवश्यक जानकारी प्रदान गरिएको सुनिश्चित भएपछि मात्रै बीमालेख जारी गर्ने प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ थियो।

मिससेलिङका कारण दाबी भुक्तानीका क्रममा समस्या तथा विवाद उत्पन्न हुने गरेको उल्लेख गर्दै उहाँले अभिकर्तालाई बीमा योजना बिक्रीमा मात्र केन्द्रित नगरी व्यावसायिक आचरण, जोखिम पहिचान, बीमित परामर्श तथा बीमालेखका सर्तबारे नियमित प्रशिक्षण दिन कम्पनीहरूलाई निर्देशन दिनुभयो।

त्यस्तै, निर्जीवन बीमा व्यवसायमा बैंकमार्फत जारी हुने बीमालेखको विवरण तथा उपयुक्तताको प्रभावकारी समीक्षा गर्न उहाँले आग्रह गर्नुभयो। विशेषगरी सम्पत्ति तथा स्टक बीमामा कच्चा पदार्थ, अर्धतयारी तथा तयारी वस्तुको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

बीमालेखमा उल्लेखित विवरण र वास्तविक जोखिमबीच असमानता हुँदा भविष्यमा दाबीका क्रममा विवाद हुनसक्ने भएकाले बीमालेख जारी गर्नुअघि आवश्यक विवरण तथा घोषणाको पूर्णता जाँच गर्न कम्पनीका प्रदेश प्रमुख तथा कर्मचारीलाई उहाँले आग्रह गर्नुभयो।

बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वासयोग्य बनाउन बीमितलाई पर्याप्त सूचना उपलब्ध गराउने, अभिकर्तालाई उत्तरदायी बनाउने तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने महर्जनले बताउनुभयो।

उहाँले बीमा सेवाको गुणस्तर सुधारका लागि प्राधिकरणको प्रदेश कार्यालय, बीमा कम्पनीका शाखा, अभिकर्ता तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।