मेनु

औषधि व्यवसायीका माग सम्बोधन गर्न चरणबद्ध आन्दोलनको घोषणा ।थारू पाेर्टल

औषधि व्यवसायीका माग सम्बोधन गर्न चरणबद्ध आन्दोलनको घोषणा ।थारू पाेर्टल

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ शाखाको आयोजनामा झापा, मोरङ र सुनसरीका औषधि व्यवसायीहरूको संयुक्त भेला मोरङको रमितेमा सम्पन्न भएको छ। भेलाले व्यवसायीका हकहित संरक्षण तथा विद्यमान समस्या समाधानका लागि दुईबुँदे निर्णय गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

भेलाले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ३ र ५ सँग सम्बन्धित विषयलाई मुख्य मुद्दा बनाउँदै आन्दोलन अघि बढाउने निर्णय गरेको हो। यसअघि सञ्चालन गरिएको आन्दोलनलाई केन्द्रीय कार्यसमितिले निष्कर्षमा नपुर्‍याई बीचमै रोकेको भन्दै सहभागी व्यवसायीहरूले असन्तुष्टि जनाएका थिए।

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले व्यवसायीका समस्या समाधानका लागि पुनः सशक्त आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए। व्यवसायीका समस्या सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन नसकिएको भन्दै उनले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको जानकारी दिए।

“हाम्रो व्यवसाय धराशयी हुँदै गएको छ। राज्यले हाम्रा गुनासा नसुनेमा हामी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ,” अध्यक्ष ढकालले भने।

भेलाले संघको लोगो प्रयोगका विषयमा पनि निर्णय गरेको छ। संघमा आबद्ध नभएका तथा सदस्यता नलिएका व्यवसायीहरूले समेत संघको लोगो प्रयोग गरिरहेको पाइएकाले अबदेखि सदस्यता प्राप्त व्यवसायीले मात्र संघको लोगो प्रयोग गर्न पाउने व्यवस्था गरिने ढकालले बताए। यस विषयमा कोशी प्रदेशका विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

कार्यक्रममा झापा जिल्लाका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य गौतम गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्का, सुनसरीका अध्यक्ष दीपेन्द्र शाहलगायत तीनै जिल्लाका कार्यसमिति सदस्य तथा औषधि व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

भेलामा व्यवसायीहरूले आफ्ना माग र समस्यासहितको ध्यानाकर्षण पत्र तयार गरी सम्बन्धित सरकारी निकायमा बुझाउने तयारीसमेत गरेका छन्। व्यवसायीहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।