विद्यानन्द चाैधरी
भाद्र।२८,कानेपोखरी ।माेरङ
पूर्वी नेपालका थारु समुदायले आज परम्परागत तथा सांस्कृतिक महत्व बोकेको रैब पर्व मनाउँदै छन्। पश्चिम नेपालका थारु समुदायले भने यही पर्वलाई ‘बड्का अट्वारी’ का रूपमा मनाउने गर्छन्।
हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुने यो पर्व ठाउँ र समुदायअनुसार भदौ महिनामा पर्ने विभिन्न आइतबारमा रैब दिन, रैब पर्व वा बड्का अट्वारीका रूपमा मनाउने चलन छ। यस वर्ष पश्चिम नेपालमा मनाइने बड्का अट्वारी भने भदौ २३ गते परेको छ।
रैब पर्व थारु समुदायको प्रकृतिप्रतिको सम्मान, कुलदेवताको पूजा तथा कृषि संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। पर्वका दिन थारु समुदायले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी शुद्ध भएर प्रकृति र कुलदेवताको पूजा गर्ने गर्छन्। त्यसपछि घरमा तयार पारिएका विभिन्न परिकार विधिपूर्वक चढाएर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।
यस दिन दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल लगायतका परिकार खाने गरिन्छ। पर्वको दिन नुन र तेल सेवन गर्नु हुँदैन, नुन–तेल खाएमा पर्व भंग हुने र कुलदेवता रिसाउने जनविश्वास रहेको छ। त्यसैले समुदायका मानिसले एक दिन नुन र तेल नखाई व्रतसरह पर्व मनाउने गर्छन्।
थारु संस्कृतिविद् भुलाइ चौधरीका अनुसार ग्रामथानका अगुवाको आज्ञा र समुदायमा प्रचलित संस्कारअनुसार रैब पर्व मनाउने गरिएको हो। थारु समुदाय प्रकृतिको पूजा गर्ने समुदाय भएकाले पर्वमा प्रकृतिमा पाइने फलफूल, दूध, दहीलगायतका सामग्री प्रयोग गरिने उनको भनाइ छ।
उनका अनुसार सूर्य प्रकृतिमा रहेको ठूलो शक्तिको स्रोत भएकाले थारु समुदायले सूर्यको उपासना गर्दै आएको छ। सूर्यको प्रकाशले रोग तथा व्याधि नाश गर्ने जनविश्वासका कारण प्रकृति र सूर्यप्रति श्रद्धा व्यक्त गर्दै यो पर्व मनाउने गरिएको चौधरी बताउँछन्।
रैब पर्वको अर्को महत्वपूर्ण पक्ष कृषिसँग जोडिएको क्षमायाचना हो। असार महिनामा खेतीपाती गर्ने क्रममा खेतबारी खन्ने, जोत्ने तथा रोपाइँ गर्ने क्रममा मानिसबाट जान–अनजानमा विभिन्न किराफट्याङ्ग्रा तथा जीवजन्तु मारिन सक्ने भएकाले त्यसप्रति क्षमायाचना गर्दै प्रकृति र कुलदेवतासँग माफी माग्ने परम्परा रहेको थारु समुदायका अगुवाहरू बताउँछन्।
खेतीपातीका क्रममा भएका यस्ता गल्तीप्रति क्षमा माग्दै एक दिन नुन नखाई शुद्ध भएर पूजा तथा आराधना गर्ने भएकाले पनि यो पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको हो।
पर्वका अवसरमा परिवारका बालबालिका तथा सबै सदस्यको सुस्वास्थ्य, दीर्घायु र सुख–समृद्धिको कामना गरिन्छ। साथै समयमै पर्याप्त वर्षा होस्, खेतबारीमा लगाइएका बालीमा रोग–व्याधि नलागोस् र कृषि उत्पादनमा वृद्धि होस् भन्ने कामना पनि गरिन्छ।
थारु समुदायको जीवनशैली, कृषि, प्रकृति र धार्मिक आस्थासँग गहिरो सम्बन्ध रहेको रैब पर्वले समुदायमा आपसी सद्भाव र सांस्कृतिक एकता कायम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पुस्तौँदेखि चलिआएको यो पर्व पछिल्लो समय नयाँ पुस्ताले समेत आफ्नो मौलिक संस्कृति र परम्पराको रूपमा मनाउँदै आएका छन्।
प्रकृतिप्रतिको सम्मान, जीवजन्तुप्रतिको संवेदना, कृषि उत्पादनको समृद्धिको कामना र कुलदेवताप्रतिको आस्थालाई एकसाथ जोड्ने भएकाले रैब पर्व थारु समुदायको विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्वका रूपमा स्थापित हुँदै आएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।