मेनु

प्राविधिक समस्याका कारण सोमबार पनि दोहा उडान प्रभावित

प्राविधिक समस्याका कारण सोमबार पनि दोहा उडान प्रभावित

 

काठमाडौँ, भाद्र २९ — नेपाल वायुसेवा निगमको जापानको नारितामा प्राविधिक समस्याका कारण रोकिएको वाइडबडी जहाज तत्काल सञ्चालनमा आउन नसक्दा सोमबारको दोहा उडान पनि प्रभावित भएको छ ।

निगमले सोमबार राति काठमाडौं–दोहा उडान गर्ने आरए–२५३ एक दिनपछि सारेको भर्खरै जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
निगमले सार्वजनिक गरेको सूचनाअनुसार सोमबार राति गर्नुपर्ने आरए–२५३ उडान मंगलबार राति ११ बजेसम्मका लागि पुनःतालिकीकरण गरिएको छ । त्यसको प्रतिउडान आरए–२५४ (दोहा–काठमाडौं) पनि बुधबार बिहान २ः४५ बजेका लागि सारिएको छ ।

जापानको नारितामा रोकिएको वाइडबडीमा इन्जिनको समस्या देखिएपछि त्यसको नियमित उडान प्रभावित भएको हो ।
निगमका अनुसार जहाजको दायाँतर्फको नम्बर–२ इन्जिनका २६ ब्लेडमध्ये एउटामा क्षति पुगेको छ । आवश्यक पाट्र्सको व्यवस्था गरी क्षतिग्रस्त ब्लेड फेरेर जहाजलाई उडानयोग्य बनाउने प्रयास भइरहेको छ ।
यसअघि यही जहाजबाट जापानको नारिताबाट सोमबार काठमाडौं फर्किनुपर्ने २२६ यात्रु अलपत्र परेका छन् । उनीहरूलाई निगमले होटलमा सारेको छ । निर्धारित तालिकाअनुसार सोमबार बिहान नारिताबाट उडेर दिउँसो काठमाडौं आइपुग्नुपर्ने जहाज प्राविधिक समस्याका कारण जापानमै रोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।