मेनु

दोस्रो रुपन्देही जिल्ला स्तरीय सीएच आईटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न।थारू पाेर्टल

दोस्रो रुपन्देही जिल्ला स्तरीय सीएच आईटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न।थारू पाेर्टल

बुटवल ।

रुपन्देहीमा आयोजित दोस्रो रुपन्देही जिल्ला स्तरीय सीएच आईटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। रुपन्देही सीएच आईटीएफ तेक्वान्दो संघको आयोजनामा बुटवल–५ हातबजारस्थित जिल्ला खेलकुद विकास समितिको सभा हलमा भदाै २७ र २८ गते प्रतियोगिता सञ्चालन भएको हो।

प्रतियोगितामा रुपन्देहीका विभिन्न ६ वटा सीएच आईटीएफ तेक्वान्दो डोजाङका करिब २ सय जना खेलाडी सहभागी भएका थिए। प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकालले गर्नुभएको थियो भने समापन समारोहमा नेपाल सीएच आईटीएफका केन्द्रीय सदस्य अमित थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।संघका जिल्ला अध्यक्ष बोम बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल सीएच आईटीएफका केन्द्रीय सदस्य अनुप बुढा मगरले गर्नुभएको थियो।

 

प्रतियोगितामा ९ स्वर्ण पदक जित्दै देवदह नगरपालिकास्थित चराङ्गे सीएच आईटीएफ तेक्वान्दो डोजाङ टिम च्याम्पियन बनेको छ। त्यस्तै ८ स्वर्ण पदकसहित सिद्धार्थनगरस्थित भैरहवा सीएच आईटीएफ तेक्वान्दो डोजाङ फस्ट रनरअप र ७ स्वर्ण पदकसहित बुटवलस्थित असन सीएच आईटीएफ तेक्वान्दो डोजाङ सेकेन्ड रनरअप बनेका छन्।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो। महिला विधातर्फ जिन्दिया घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भएकी छन्। उनी चराङ्गे सीएच आईटीएफ तेक्वान्दो डोजाङ, देवदहकी खेलाडी हुन्। त्यस्तै सत्यम गुप्तालाई पनि उत्कृष्ट खेलाडीका रूपमा सम्मान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा चराङ्गे, भैरहवा, असन, प्रगति, जनज्योति र कञ्चन सीएच आईटीएफ तेक्वान्दो डोजाङका खेलाडीले सहभागिता जनाएका थिए।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचानसँगै तेक्वान्दो खेलको विकास र खेलाडीबीचको आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।