झापा, ३१ भदौ ।

मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा बुधबार बिहान एउटा बयस्क जंगली हात्ती मृत फेला परेको छ।
स्थानीयवासीले धानखेतमा दाह्रे हात्ती मृत अवस्थामा देखेपछि डिभिजन वन कार्यालय झापालाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि वन कार्यालयले हात्तीको अवस्था र मृत्युको कारणबारे अध्ययन गर्न टोली घटनास्थलतर्फ पठाएको कार्यालय प्रमुख नथुनी गोहीवार यादवले जानकारी दिनुभयो।यादवका अनुसार मृत हात्तीको मृत्युको कारण तत्काल खुल्न सकेको छैन। वन कार्यालयको टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा परीक्षण गर्ने जनाएको छ।

मेचीनगरका वडा नं. २, ३, ४ र ५ क्षेत्रमा लामो समयदेखि जंगली हात्तीको आवागमन हुँदै आएको छ। हात्तीका कारण स्थानीयवासीको ज्यान जोखिममा पर्नुका साथै किसानको खेतीबालीमा समेत ठूलो क्षति हुँदै आएको छ।
झापामा मेची नदी पार गरी भारततर्फका जंगलबाट ठूलो संख्यामा जंगली हात्ती आउने गरेका छन्। स्थानीय जंगलमा बसोबास गर्ने रैथाने हात्तीको संख्या पनि पछिल्ला वर्षमा बढ्दै गएको वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय झापाको तथ्यांकअनुसार पछिल्लो १६ वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा २८ वटा जंगली हात्ती मृत अवस्थामा फेला परेका छन्।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।