मेनु

भोटेकोशी बाढीको क्षति विवरण संकलन गर्न २५ सदस्यीय समिति गठन ।थारू पाेर्टल

भोटेकोशी बाढीको क्षति विवरण संकलन गर्न २५ सदस्यीय समिति गठन ।थारू पाेर्टल

रसुवा, ३१ भदौ ।

भोटेकोशी बाढीबाट जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्न रसुवामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन गरिएको छ।

जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरण एक महिनाभित्र संकलन गर्न समितिलाई जिम्मेवारी दिएको छ।समितिमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी तथा भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा गैरसरकारी निकायका प्रमुख प्रतिनिधि सदस्य रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी समितिको सदस्यसचिव रहनुभएको छ।

बाढीका कारण स्याफ्रुबेँसीमा रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन बगेपछि गाउँपालिकाको नियमित प्रशासनिक काम सञ्चालन गर्न रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ।

त्यस्तै, बेत्रावतीको खाल्टेमा बाढीले बगाएको उत्तरगया गाउँपालिकाको भवन पुनर्निर्माणका लागि बेत्रावतीमाथि रहेको सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।विपद्का समयमा उद्धार तथा अन्य आवश्यक कार्यका लागि निजी कम्पनीका हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आएमा सम्बन्धित संस्था वा व्यक्तिले लिखित अनुरोध गरे जिल्ला प्रशासन कार्यालयले रसुवा उडानका लागि आवश्यक अनुमति तथा सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ।

भोटेकोशी बाढीले रसुवाका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नवगठित समितिले क्षतिको यकिन विवरण संकलन गरेपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।यसैबीच, बाढीका कारण क्षतिग्रस्त रसुवा–नुवाकोट सीमा क्षेत्रको बेत्रावतीस्थित फलाखुखोला, स्याफ्रुबेँसीको भोटेकोशी तथा रोङ्गा खोलामा बेलीब्रिज छिटो जडान गरी सडक तथा पैदलमार्गको सम्पर्क पुनःस्थापित गर्न रसुवा नागरिक समाजले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।