८ असोज, कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिकाले भारी वर्षा, बाढी, पहिरो तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै असोज ९ गते शुक्रबार गाउँपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थाबिदा दिने निर्णय गरेको हो।
हाल कानेपोखरी क्षेत्रमा समेत मौसम प्रतिकूल बन्दै गएको तथा वर्षाका कारण विभिन्न जोखिम निम्तिन सक्ने अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी, शिक्षक तथा विद्यालयसँग सम्बन्धित सबैको सुरक्षाका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने तथा बाढी, पहिरो र चट्याङको सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरेको थियो।
सोही पूर्वानुमानलाई आधार मान्दै नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज ७ गते स्थानीय तहलाई आवश्यकताअनुसार शैक्षिक संस्था बन्द गर्न सक्ने व्यवस्था गरेको थियो।गाउँपालिकाले उक्त व्यवस्थाअनुसार सम्भावित प्राकृतिक विपद्बाट विद्यार्थी तथा शिक्षकको सुरक्षा सुनिश्चित गर्न शुक्रबार एक दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।