सुनसरी, ८ असोज ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ मा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।बिहीबार बिहान करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।दुर्घटनामा सप्तरी कञ्चनपुर नगरपालिका–११ का ३२ वर्षीय चालक आर्यन पोखरेलसहित सोही ठाउँका ७० वर्षीय दनसलाल चौधरी, ६० वर्षीय असरफि खङ, ३० वर्षीया सुनिता खङ र २१ वर्षीया माया भुजेल घाइते भएका छन्।
त्यस्तै, कञ्चनपुर नगरपालिका–१ का ४३ वर्षीय गोबिन्द गुप्ता र ४७ वर्षीया राधा नेपाल, वडा नम्बर ६ का ४० वर्षीय देवाकान्त चौधरी र ३० वर्षीया पुजा चौधरी तथा वडा नम्बर १२ का ५१ वर्षीय बलराम पौडेल घाइते भएका छन्।सप्तरीकै फत्तेपुर–१ का ३६ वर्षीया उर्मिला भुजेल र २१ वर्षीया उशा भुजेल पनि दुर्घटनामा घाइते भएका छन्।
घाइते सबैको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये बलराम पौडेललाई प्राथमिक उपचारपछि बिहान साढे ९ बजे अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।