असाेज, ११ ।आईतवार

मोरङको कानेपोखरी गाउँपालिका वडा न –२ स्थित केरौन बजार नजिक निर्माण भइरहेको केरौन १३२/३३ केभी सबस्टेशन आयोजनाको काम सम्पन्न भएको छ। करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाको अधिकांश संरचनागत काम सम्पन्न भइसकेको र असाेज महिना भित्र उक्त सबस्टेशन बाट बिधुत आपूर्ति हुने ईन्जिनियर राजेश साहले बताए ।
असाेज १७ गते हाईटेन्सबाट बिधुतका सटडाउन लिनका लागि प्रक्रिया अगाडि बढि सकेकाे र उक्त ट्रान्सर्फमरमा चार्ज गर्नेका लागि २४ घण्टा समय लाग्ने र शनिबार बिहान ६ बजे देखि साँझ ६ बजे सम्म दुई दिन माेरङ र झापाकाे बिधुत आपूर्ति बन्द गर्नेका लागि नेपाल बिधुत प्राधिकरण केन्द्रीय कार्यलयकाे अनुमति लिएर मात्रै सटडाउन गर्नुपर्ने भएको हुनाले उक्त काम समेत भईरहेकाे साहले बताए ।

नेपाल सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त आयोजना विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले अघि बढाइएको हो। नेपाल सरकारले करिब पाँच बिघा जग्गा खरिद गरी सबस्टेशन निर्माणका लागि उपलब्ध गराएको हो। २०७८ साउन २७ गतेबाट निर्माण सुरु भएको आयोजनाको प्रारम्भिक ठेक्का अवधि २०८० कात्तिक २५ गतेसम्म थियो। निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले म्याद थप गरी २०८१ कात्तिक २५ गतेसम्म पुर्याएको थियो।

पोल विस्तारसम्बन्धी काम सम्पन्न भइसकेको र सबस्टेशनभित्र वायरिङ, ट्रान्सफर्मर जडानलगायतका प्राविधिक काम समेत सम्पन्न भईसकेकाे बताए । केरौन सबस्टेशन सञ्चालनमा आएपछि हाल विराटनगरतर्फबाट पूर्वी क्षेत्रमा आउने विद्युत् लाइनमा देखिँदै आएको भोल्टेजको समस्या निर्मुल हुने अपेक्षा गरिएको छ। आयोजनाका अनुसार नयाँ सबस्टेशनबाट विद्युत् आपूर्ति भएपछि सम्बन्धित क्षेत्रमा गुणस्तरीय र स्थिर विद्युत् आपूर्ति गर्न थप सहज हुने अपेक्षा समेत गरिएको छ। हाल कतिपय क्षेत्रमा कम भोल्टेजका कारण घरेलु उपभोक्तादेखि उद्योग, व्यापार तथा कृषि क्षेत्रमा समेत समस्या हुने गरेको छ।

नयाँ सबस्टेशन सञ्चालनमा आएपछि लामो दूरीबाट विद्युत् आपूर्ति गर्नुपर्ने अवस्था घट्ने र स्थानीय वितरण प्रणाली थप मजबुत हुने अपेक्षा गरिएको छ। यी क्षेत्रका उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने केरौन सबस्टेशन सञ्चालनमा आएपछि रङ्गेली वितरण केन्द्रअन्तर्गतका रङ्गेली, सुनवर्षी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, रमाइलो लगायतका क्षेत्रका विद्युत् उपभोक्ता लाभान्वित हुने आयोजनाले जनाएको छ। विशेषगरी बढ्दो जनसंख्या, शहरीकरण, कृषि विद्युतीकरण, साना तथा ठूला उद्योग र व्यापारिक गतिविधिका कारण विद्युत्को माग बढिरहेको अवस्थामा नयाँ सबस्टेशन सञ्चालनले विद्युत् वितरणको क्षमता र विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।