पथरी शनिश्चरे समाचारदाता
असाेज।१५ ।विहिबार

२५० दशमलव ४५ हेक्टर क्षेत्रफलमा रहेको हरियाली सामुदायिक वनले २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो अवसरमा सामाजिक विकासमन्त्री गिता तिम्सिनाले सामुदायीक वनको २५ बर्षे यात्रामा गरिएका र भएका साथै भावि दिनमा गर्नु पर्ने कामलाई गतिविधीलाई समेटेर तयार पारेको पुस्तक हरियालीका पाइला’ विमोचन गर्नु भएको छ। पुस्तक विमोचन पछि शुभकामना मन्तव्य दिँदै मन्त्री तिम्सिनाले प्रकृति र मानव जीवनबीचको अटुट सम्बन्धलाई संरक्षण र समृद्धिको बाटोमा अघि बढाउन सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले हरियाली सामुदायिक वनले संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र विशेषगरी पर्यापर्यटनका क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। साल वनको संरक्षण गर्दै पर्यापर्यटनलाई थप व्यवस्थित गर्दै आएको सामुदायीक वनले हरेक वर्ष सम्झौता अनुसार हरियाली सामुदायिक वन लिमिटेड सँग सेयर खरिद गर्दै जाने योजना पनि रहेको वनका अध्यक्ष काबुल बहादुर मगर (विकास) ले जानकारी दिनुभयो। साधारणसभामा अध्यक्ष मगरले समूहको गौरवको योजनाका रूपमा रहेको हरियाली पार्कको डीपीआर स्वीकृत भई विभिन्न संरचना निर्माण तथा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । अध्यक्ष मगरले निर्माणाधीन संरचनाहरू आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको वताउनु भयो ।

कार्यक्रममा सचिव निर्मला चौहानले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित भावी योजना र कार्ययोजना प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष कमला लिम्बूले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा समूहको कुल आम्दानी १ करोड ४४ लाख ११ हजार २१२ रुपैयाँ रहेकोमा दायित्वसहित कुल खर्च १ करोड ५९ लाख ४३ हजार ७९० रुपैयाँ रहेको कोषाध्यक्ष कमला लिम्बूले बताउनु भयो ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भने १ करोड ६५ लाख ५९ हजार १६७ रुपैयाँ अनुमानित आम्दानी गर्ने लक्ष्य लिएको बताउनु भयो । साधारणसभामा पथरी शनिश्चरे–२ का वडाध्यक्ष नैना राई, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बू, वडा नं. ७ का वडाध्यक्ष उद्धव राज बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्त, सब–डिभिजन वन कार्यालय पथरीका प्रमुख कुमार बस्नेत, हरियाली सामुदायिक वनका संयोजक दिलबहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।