विराटनगर ।असाेज।२२
विष्णु राजबंशी

विद्युतीय फोहोर अर्थात् इ–वेस्टबाट बहुमूल्य तथा दुर्लभ धातु पुनःप्राप्त गर्ने प्रविधि विकासमा विराटनगरका वैज्ञानिकहरूले महत्वपूर्ण सफलता हासिल गरेका छन्।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका रसायनशास्त्रका अनुसन्धानकर्ताले तीन वर्षसम्म गरेको अनुसन्धानबाट फालिएका ब्याट्री तथा विद्युतीय फोहोरमा रहेका लिथियम, निकेल र प्लेटिनम पुनःप्राप्त गर्न सकिने प्रविधि विकास गरेका हुन्।
त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयअन्तर्गत अनुसन्धान समन्वय तथा विकास परिषद्को तीन वर्षे ‘उत्कृष्टता अनुसन्धान अनुदान’ अन्तर्गत सञ्चालित परियोजनाको अन्तिम प्रतिवेदन बुधबार विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
‘विद्युतीय फोहोरबाट वातावरणमैत्री चिरल कार्यात्मक आयनिक तरल पदार्थ प्रयोग गरी दुर्लभ माटोका धातुका आयनको दिगो पुनःप्राप्ति’ शीर्षकमा गरिएको अनुसन्धानको उद्देश्य विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणबाट निस्कने फोहोरमा रहेका दुर्लभ धातुका आयनलाई वातावरणमा न्यून असर पर्ने प्रविधिबाट पुनःप्राप्त गर्नु रहेको अनुसन्धानकर्ताले बताएका छन्।
मोबाइल, ब्याट्री तथा विभिन्न इलेक्ट्रोनिक उपकरणको प्रयोग बढेसँगै इ–वेस्टको मात्रा पनि तीव्र रूपमा बढिरहेको छ। उचित व्यवस्थापन हुन नसक्दा इ–वेस्टले वातावरणमा जोखिम बढाउनुका साथै त्यसमा रहेका बहुमूल्य धातु खेर जाने अवस्था रहेको छ।

अनुसन्धानकर्ता सिर्जना घिमिरेका अनुसार फालिएका ब्याट्री तथा विद्युतीय फोहोरबाट लिथियम, निकेल र प्लेटिनमजस्ता धातु पुनःप्राप्त गर्न सफलता मिलेको हो। यसले इ–वेस्टलाई फोहोरका रूपमा मात्र नभई पुनःप्रयोग गर्न सकिने स्रोतका रूपमा उपयोग गर्ने सम्भावना देखाएको छ।
परियोजनाका प्रमुख अनुसन्धानकर्ता महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको रसायनशास्त्र विभागका प्राध्यापक डा. अजय भट्टराई हुन्। सह–अनुसन्धानकर्ताका रूपमा डा. सुजितकुमार शाह तथा भारतको आईआईटी मद्रासका प्राध्यापक डा. रमेशलक्ष्मी गर्दास सहभागी थिए।

त्यस्तै, डा. रोहितकुमार देव पोस्ट–डक्टरेट अनुसन्धानकर्ता तथा महिमा कोइराला, निशा मगर, रिजन गिरी र सिर्जना घिमिरे स्नातकोत्तर तहका विद्यार्थीका रूपमा अनुसन्धानमा संलग्न थिए।३० लाख ५० हजार रुपैयाँ बजेटमा सञ्चालित अनुसन्धान परियोजनाको व्यवस्थापनका लागि क्याम्पस प्रमुख डा. रामअवतार शरणको अध्यक्षतामा समिति गठन गरिएको थियो।
अनुसन्धानबाट प्रविधिगत सफलता प्राप्त भए पनि त्यसलाई औद्योगिक तथा व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न ठूलो लगानी र पूर्वाधार आवश्यक रहेको प्रमुख अनुसन्धानकर्ता प्रा.डा. भट्टराईले बताएका छन्।स्थानीय स्तरमा ठूलो मात्रामा फालिने ब्याट्री तथा विद्युतीय फोहोरलाई व्यवस्थित रूपमा संकलन गरी त्यसबाट बहुमूल्य धातु निकाल्न सके वातावरण संरक्षणसँगै आर्थिक लाभको नयाँ सम्भावना सिर्जना हुने उनको भनाइ छ।
प्रयोगशालामा सफल भएको प्रविधिलाई अब औद्योगिक स्तरमा लैजान सकिन्छ कि सकिँदैन भन्ने विषय आगामी चुनौती बनेको छ। विराटनगरका अनुसन्धानकर्ताले हासिल गरेको यो उपलब्धिलाई नेपालमा इ–वेस्ट व्यवस्थापन र बहुमूल्य धातुको पुनःप्राप्तिका क्षेत्रमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।