पथरी शनिश्चरे समाचारदाता,
असाेज-२५गते
मोरङको पथरी शनिश्चरे नगरपालिका–१, जाँते मोडस्थित प्रस्तावित रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकपको उपाधि नेपाल पुलिस क्लब काठमाडौंले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा झापा–११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि उचालेको हो। निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।

टाइब्रेकरमा नेपाल पुलिस क्लबले पाँच गोल गर्दा झापा–११ ले चार गोल मात्रै गर्न सक्यो। यससँगै पुलिसले उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। उपाधि विजेता नेपाल पुलिस क्लबले नगद ६ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता झापा–११ फुटबल क्लबले नगद ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृतसमेत गरिएको थियो।प्रतियोगितामा प्लेयर अफ दि टुर्नामेन्ट नेपाल पुलिसका सुजन मगर पुलामी घोषित भए भने बेष्ट गोलकिपर नेपाल पुलिस क्लबकै अमित टमाटा बने।
यसैगरी, राइजिङ प्लेयरका रूपमा पथरी -११ एफसीका विशाल पुलामी मगर घोषित भएका छन् भने खेल अवधिभर सर्वाधिक गोलकर्ता झापा ११एफसीका प्रताप राई घोषित भएका हुन्। पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य गणेश कार्की पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, गृह मन्त्रालयका सचिवालय प्रमुख जेम्स कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि, नगर प्रमुख र आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गणेश कार्कीले खेलकुद देशको विकासको महत्त्वपूर्ण आधार भएको बताउनुभयो।

उहाँले खेलकुदले मानसिक, शारीरिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भसमेत जोड्नुभएको थियो। त्यस्तै, नगर प्रमुख मोहनप्रसाद तुम्बापोले अनुशासित रूपमा प्रतियोगिता सम्पन्न गर्दै विजयी भएका दुवै टोलीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले पथरी शनिश्चरेलाई देश–विदेशमा चिनाउन गोल्डकपले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि नगरपालिकाले प्रतियोगितालाई निरन्तरता दिन आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सोही अवसरमा नगर प्रमुख तुम्वापोले जाँते मोडस्थित प्रस्तावित रंगशाला वन क्षेत्रमा रहेकाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया सहज बनाई भौतिक संरचना निर्माणको वातावरण मिलाइदिन सांसद कार्कीसँग आग्रह गर्नुभयो। नजिकै रहेका वन कार्यालय तथा इलाका प्रहरी कार्यालयका संरचनासमेत वन क्षेत्रमै रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले प्रस्तावित रंगशालाको निर्माणका लागि आवश्यक पहल गर्न अनुरोध गरे । जवाफमा सांसद कार्कीले नेपाल सरकारले भूमि ऐन जारी गरिसकेको र प्रमाणीकरणको प्रक्रियाबारे जानकारी दिँदै भूमिसम्बन्धी समस्याको समाधानका लागि आफूले जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।