कार्तिक।२७।शुक्रबार
पथरीशनिश्चरे।

मोरङको पथरीशनिश्चरेमा ‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३’ कार्तिक।२७गते शुक्रबारदेखि सुरु भएको छ।

बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा पथरीस्थित एभरेष्ट बोर्डिङ स्कुलमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख मोहन तुम्बापोले दीप प्रज्वलन तथा चेसको गोटी चालेर गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा नगर प्रमुख तुम्बापोले पथरीशनिश्चरेमा बुद्धिचाल खेलको विकास र खेलाडी उत्पादनको गति तीव्र हुँदै गएको बताउनुभयो। उहाँले प्रदेशका विभिन्न स्थानमा समेत पथरीको बुद्धिचाल खेलको चर्चा हुने गरेको उल्लेख गर्नुभयो।प्रतियोगितामा नगरका स्थापित खेलाडी तथा सरकारी र निजी विद्यालयका विद्यार्थी गरी सयभन्दा बढी खेलाडी सहभागी रहेको बुद्धिचाल संघका संस्थापक अध्यक्ष तथा आरबिटर डम्बर राईले जानकारी दिनुभयो।

प्रतियोगिता स्वीस लिग प्रणालीअनुसार नौ राउण्डमा सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी महिला च्याम्पियन, जुनियर च्याम्पियनलगायत विभिन्न विधामा गरी कुल १३ वटा पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
एभरेष्ट बोर्डिङ स्कुलले आफ्ना संस्थापक सुशीला कन्दङ्वाको स्मृतिमा प्रतियोगितालाई टाइटल स्पोन्सर गर्दै आएको छ। विद्यालयका निर्देशक रविन कन्दङ्वाले अभिभावकप्रतिको सम्मानको संस्कार विकास गर्नुका साथै खेल र खेलाडीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितालाई सहयोग गर्दै आएको बताउनुभयो।
कार्यक्रममा सुशीला कन्दङ्वाको जीवनी सञ्चारकर्मी अर्जुन जम्नेली राईले प्रस्तुत गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरू भीमकुमार राई र नैना राई, नगर प्याब्सनका अध्यक्ष सन्तोष बस्नेत, नगर खेलकुद विकास समितिका सदस्य लोकसागर साम्बालगायतको उपस्थिति रहेको थियो।बुद्धिचाल संघका नगर अध्यक्ष रोहित सुब्बा बेलायत भ्रमणमा रहनुभएकाले उपाध्यक्ष तुशी भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पवन राईले स्वागत गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।