पुस।२४।
प्रवास खबर
धनुषा जिल्लाको नक्टाझीज निवासी कृष्णा कुमार यादव आफ्नो परिवारको आर्थिक अवस्थालाई सुधार्न सन् २०१८मा साउदी अरब जान बाध्य भए। ए.एस. इन्टरनेशनल ग्रुप प्रा.लि. नामक म्यानपावर कम्पनीमार्फत उनी सउदी पुगे। अल-रहमान अब्दुल्लाह अल-हरबी अलबाकरिया कम्पनीमा ट्रक चालकका रूपमा कार्यरत भए पनि कम्पनीले उनलाई ड्राइभिङ लाइसेन्स उपलब्ध गराएन। जबर्जस्ती गाडी चलाउन बाध्य गराइयो। तलबसमेत नदिएर, जब उनी र अन्य मजदुरहरूले तलबको माग गरे, कम्पनीले उनीहरूलाई गाली-गलौज मात्र गरेन, पिट्ने पनि गर्यो।
डेढ वर्षको अन्यायपूर्ण व्यवहार सहेर, १९ जना मजदुरहरू कम्पनीबाट भाग्न बाध्य भए। तीमध्ये १६ जना भारतीय मजदुरहरू थिए, जसलाई भारत सरकारले उद्धार गर्यो। तर, तीनजना नेपालीहरू साउदीमै अलपत्र परे। कम्पनीले कृष्णाविरुद्ध झूटो मुद्दा दर्ता गरेपछि उनी साउदीमै फस्न पुगे। उनका अकामा (वर्क परमिट) पनि कम्पनीले अवैध बनाएको थियो। न त उनी कानुनी रूपमा काम गर्न सके, न त नेपाल फर्किन।
परिवारको अवस्था र मेरो प्रयास
कृष्णाका वृद्ध बाबु बिल्टु यादव, उनकी श्रीमती र पाँच सन्तानसहित सात जनाको परिवार उनको कमाइमा निर्भर थियो। महिनौंसम्म पैसा नआएपछि परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भयो। छोराछोरीले विद्यालय जान छोडे। वृद्ध आमाबुबा आफ्नो छोराको पीडाले अझ कमजोर हुँदै गए।
कृष्णाको पीडा बुझेर सामाजिक अभियान्ता सरोज रायको पहलमा सन् २०२३ मा नेपाल सरकार र साउदी स्थित नेपाली दूतावासलाई बारम्बार अनुरोध गरें। रायले दम्मामका दूतावास अधिकारी, राजदूतर र अन्य कर्मचारीहरूसँग बारम्बार सम्पर्क गरें। उनले ईमेल, म्यासेज, र फोनमार्फत उनीहरूको ध्यानाकर्षण गराउने प्रयास गरें। तर, हरेकपटक उनीहरूले एउटा ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न मात्र भने, रायले हर प्रयास गरिरहेका थिए भने यो गैरजिम्मेवारीले कृष्णालाई सहयोग गर्न निकै कठिन भयो।
कृष्णाले भोकभोकै आफ्नो जीवन गुजार्न बाध्य भए। कहिलेकाहीँ साथीहरूको सहयोगले र सानो-मोटो काम गरेर उनी बाँचे। तर, मानसिक तनाव, पारिवारिक चिन्ता, र रोगले उनलाई कमजोर बनायो। उनले रोएर मलाई एकपटक भनेका थिए, “सरोज सर, मलाई नेपाल फर्काइदिनुस्, मेरो छोराछोरीको हालत खराब हुँदैछ। म उनीहरूको सोचमै मर्छु।” यही कुरा भयो। ६ वर्षको प्रयासपछि पनि नेपाल फर्कन नसकेका कृष्णाको केहि अगाडी मात्र ३० डिसेम्बर २०२४ मा साउदीमै हार्ट अटैकले मृत्यु भएको खबर आयो।
कृष्णाको परिवार अहिले अझै साउदीबाट उनलाई फिर्ता बोलाई दिन गुहार गरिरहेको छ। उनीहरूलाई थाहा छैन कि कृष्णा यो संसार छोडिसके। उनका आमा भने फोक्सोको क्यान्सर भएर उपचार नपाएर छोरी ज्वाईको शरणमा थलिएर बसेका छन । उनका वृद्ध आमाले हालै एउटा भिडियोमा तडपिएर भनेकी थिइन्, “कृष्णा बेटा, कृष्णा बेटा।” तर, उनलाई यो सत्य थाहा छैन। उनको आमाले यो खबर सुन्नासाथ जिउने आशा गुमाउने डर छ भनेर मैले फोन मार्फत कृष्णाको मृत्युको खबर दिन हिम्मत गरिन, त्यसै यो लेखबाट दिन खोज्दै छु।
कृष्णालाई उद्धार गर्ने बहानामा पनि ठग्नेहरूको कमी थिएन। धनगढी माई नगरपालिका, वार्ड न. ७ निवासी सुनील पासवान, जसले आफूलाई सामाजिक साउदीमा सक्रिय संघठन ‘तराई युवा समाज कल्याण सेवा नेपाल’ को अध्यक्ष बताउँथे, उनले कृष्णाबाट पटक-पटक पैसा लिएर झूटो आश्वासन दिए।
यो घटनाले म्यानपावर कम्पनीहरूको गैरजिम्मेवार र ठगी व्यवहार, साउदीस्थित नेपाली दूतावासको लापरवाही, र सरकारको असफलतामाथि गहिरो प्रश्न उठाएको छ।
कृष्णा यादवजस्ता हजारौं नेपाली युवाहरू, जसले राम्रो भविष्यको सपना देखेर विदेश जान्छन्, त्यहाँ अमानवीय व्यवहार, शोषण, र लापरवाहीले तडप्न बाध्य छन्। यी घटनाले सरकार र सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारी प्रति गम्भीर बन्न चेतावनी दिन्छ।
कृष्णाको पीडाले हामी सबैलाई झक्झक्याउनुपर्छ।