३, माघ ।
विद्यानन्द चाैधरी

मोरङको कानेपोखरी गाउँपालिकाबाट करदाता सेवा सुरु भएको छ। यसअघि पथरीबाट प्रदान हुँदै आएको करसम्बन्धी सेवा अब गाउँपालिकाको कार्यालयबाटै उपलब्ध हुने भएको हो।

माघ २ गते शुक्रबार आयोजित विशेष कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष राजमती इङनाम ले प्रोजेक्टरको बटन क्लिक गरी औपचारिक रूपमा करदाता सेवा शुभारम्भ गर्नुभएको थियो। सेवा सुरु भएसँगै अब करसम्बन्धी कामका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ।
कार्यक्रमकै अवसरमा वडा नं. ३ का रमेश थापा सञ्चालित थापा होटेल लाई पहिलो प्यान नम्बरको प्रमाणपत्र प्रदान गरिएको थियो।

नयाँ व्यवस्थाअनुसार व्यवसायीले पहिले आफ्नो सम्बन्धित वडाबाट व्यवसाय दर्ता प्रमाणपत्र लिनुपर्नेछ भने त्यसपछि गाउँपालिकाबाट प्यान नम्बरको प्रमाणपत्र प्राप्त गर्न सकिनेछ। करदाता सेवा लिँदा तथा बन्द गर्दा मात्रै दुईपटक गाउँपालिकामा उपस्थित हुनुपर्ने र अन्य अधिकांश सेवा घरबाटै अनलाइनमार्फत गर्न सकिने सम्बन्धित पक्षले जानकारी दिएका छन्।

गाउँपालिका अध्यक्ष राजमती इङनामको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादब ले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले कानेपोखरीका सर्वसाधारणलाई करसम्बन्धी सचेतना बढाउन गोष्ठी तथा कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। साथै सबैलाई करको दायरामा ल्याउनुपर्ने र स्थानीय सरकारको प्रमुख आयस्रोत कर भएकाले यसको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा वडा अध्यक्ष गोपाल बहादुर कार्की, नेपाली कांग्रेस गाउँसभापति योगेन्द्र दाहाल, नेकपा एमाले गाउँपालिका कमिटी उपाध्यक्ष कृष्ण थामी, नेपाली कम्युनिस्ट पार्टी कानेपोखरीका अध्यक्ष केदार राई, रास्वप कानेपोखरी सभापति सुनिल दत्त अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष खड्गबहादुर बस्नेत, वडा अध्यक्ष चरण गुरुङ, गाउँ कार्यपालिका सदस्य शुशिला श्रेष्ठ र पद्मा कुमारी गुरुङ तथा पत्रकार सहितको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम भने प्रशासन शाखा प्रमुख मचिन्द्र थलङले सँचालन गर्नु भएकाे थियाे ।।