
बेलबारी नगरपालिका–४ जडिबुटी क्षेत्रमा फुलेको क्यामोमाईल फूल हेर्न र फोटो–भिडियो खिच्न आउनेको भीड बढेसँगै खेती नै नष्ट हुन थालेको छ। सामाजिक सञ्जालमा तस्बिर र भिडियो भाइरल भएपछि दैनिक सयौं मानिस उक्त क्षेत्रमा पुग्न थालेका छन्।
किसानका अनुसार फूल फुलेको समयमै मानिसहरू खेतभित्रै पस्ने, बोट कुल्चिने र फूल टिप्ने क्रम बढ्दा उत्पादनमा क्षति पुगेको छ। केहीले राम्रो दृश्य कैद गर्ने नाममा बालीमाथि हिँड्ने गरेकाले क्यामोमाईलका नाजुक बोटहरू नष्ट भइरहेका छन्।

स्थानीय बासिन्दाले पनि भीड व्यवस्थापन र सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्। उनीहरूका अनुसार उचित तारबार, सूचना बोर्ड र निगरानीको व्यवस्था गरिएमा खेती जोगाउन सकिन्छ।
किसानहरूले कृषि क्षेत्रलाई मनोरञ्जन स्थलजस्तै प्रयोग नगर्न सबैमा अपिल गरेका छन्। क्यामोमाईल औषधीय गुणले भरिपूर्ण महत्वपूर्ण जडिबुटी बाली भएकाले यसको संरक्षणमा सबै पक्षको ध्यान जानुपर्ने देखिएको छ।