२० फागुन,कानेपाेखरी ।

माझी समुदायको महान सांस्कृतिक पर्व ‘लदी पूजा तथा घाट पूजा’ मोरङको कानेपोखरी–५ भौसाबारीस्थित कालीकोशी खोलामा सम्पन्न भएको छ। समुदायबीच एकता र सांस्कृतिक पहिचान सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त पूजा दोस्रो पटक कानेपोखरीमै भव्य रूपमा गरिएको हो।मंगलबार कानेपोखरी गाउँपालिका क्षेत्रका माझी समुदायका सदस्यहरू भेला भई सामूहिक रूपमा पूजा सम्पन्न गरेका हुन्। पूजामा गाउँपालिका क्षेत्रभित्रका ९ वटा माझी समूहको सहभागिता रहेको थियो। पूजा–आजा, सांस्कृतिक कार्यक्रम तथा सामूहिक सहभागितामार्फत समुदायको परम्परा जगेर्ना गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको आयोजना नेपाल माझी उत्थान संघ गाउँकार्य समिति कानेपोखरी, मोरङले गरेको हो। संघका अध्यक्ष साउनी माझी, सचिव मनोज माझी र कोषाध्यक्ष सुस्मिता खत्री माझीको नेतृत्वमा पछिल्ला वर्षदेखि कानेपोखरीमै पूजा आयोजना हुँदै आएको छ।यसअघि माझी समुदायले कोशी नदीमा गई ‘लदी पूजा तथा घाट पूजा’ गर्दै आएका थिए। तर खर्च बढी लाग्ने तथा माझी समुदाय प्राकृतिक पूजक भएकाले जहाँसुकै प्रकृतिको पूजा गर्न सकिने विश्वासका कारण गत वर्षदेखि कानेपोखरी गाउँपालिकामै पूजा गर्न थालिएको भोजवीर माझीले जानकारी दिए।

यस वर्ष भने चुनावी आचारसंहिताका कारण सामान्य रूपमा पूजा सम्पन्न गरिएको र आगामी वर्ष अझ भव्य रूपमा कार्यक्रम आयोजना गरिने अध्यक्ष साउनी माझीले बताइन्।माझी समुदायको सांस्कृतिक पहिचान र एकतालाई बलियो बनाउने उद्देश्यले आयोजना गरिएको ‘लदी पूजा तथा घाट पूजा’ले स्थानीयस्तरमा उत्साह थपेको छ।