सिरहा, २७ फागुन — सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४ः१५ बजे भएको विस्फोटमा एकजना घाइते भएका छन्।बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आउनुभएको उक्त फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटमा फर्ममा काम गर्ने सहयोगी सौरव यादव घाइते भएका छन्। उनको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार विस्फोट सुतली बम हो वा अन्य प्रकारको भन्ने अझै यकिन भइसकेको छैन। सटर वरपर र कोठाभित्र कुनै पर्चा–पम्प्लेट फेला परेको छैन।

प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। नेपाली सेना अन्तर्गत चोहर्वास्थित नन्दाबक्स गण बाट निष्क्रिय टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।घटनापछि केही समय त्रासको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ।