'पदक विजेता खेलाडीलाई कानेपोखरी गाउँपालिकाद्वारा सम्मान।थारू पाेर्टल'

June 6, 2026

विज्ञापन
No data was found

जेठ।२३,कानेपोखरी, मोरङ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा जेठ १६ र १७ गते सम्पन्न पाँचौँ राष्ट्रिय सीएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडीहरूलाई कानेपोखरी गाउँपालिकाले सम्मान गरेको छ।

प्रतियोगितामा मोरङ जिल्लाले ४ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १५ पदक जित्दै चौथो स्थान हासिल गरेको थियो। सोही प्रतियोगितामा पदक विजेता कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिकाका खेलाडीहरूलाई सोमबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमति इङ्नामले खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने बताउँदै खेलाडीहरूको उपलब्धिले गाउँपालिकाको गौरव बढाएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव तथा सामाजिक व्यक्तित्व खेमकुमारी दाहालसहितका अतिथिहरूले खेलाडीहरूलाई खादा तथा अविरको टीका लगाएर सम्मान गर्नुभएको थियो।

प्रतियोगिताको स्प्यारिङतर्फ आशिष भुजेल, रोयल राई, विन्तिका लिम्बु र पूर्णिमा अधिकारीले स्वर्ण पदक जितेका थिए। विशिका धिमाल र सन्तोष राईले रजत पदक प्राप्त गर्दा लक्ष्मी लिम्बु र दिप्सन श्रेष्ठले कास्य पदक हात पारेका थिए।

त्यस्तै प्याटनतर्फ कलर बेल्ट समूहमा लक्ष्मी लिम्बु र सन्तोष राईले रजत तथा दिप्सन श्रेष्ठले कास्य पदक जितेका थिए। ब्ल्याक बेल्टतर्फ विशिका धिमाल र पूर्णिमा अधिकारीले रजत तथा रोयल राई र विन्तिका लिम्बुले कास्य पदक प्राप्त गरेका थिए।

सम्मान कार्यक्रममा कोशी प्रदेश सीएच आईटीएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेल, सचिव दिनेश सुब्बा, सहसचिव राजकुमारी तामाङ, कोषाध्यक्ष अन्जुला श्रेष्ठ तथा मोरङ सीएच आईटीएफ तेक्वान्दो संघका सचिव पूर्णिमा अधिकारी, कोषाध्यक्ष आशिष भुजेल र सदस्य सजना श्रेष्ठ  लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकहरूले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्दै सम्मान कार्यक्रम आयोजना गरेकोमा कानेपोखरी गाउँपालिकाप्रति आभार व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.