असार ४ बिहीबार
रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिका–७ स्थित गुद्री बजार कुनै समय स्थानीय उत्पादन गर्ने र हाट बजारमा बिक्रीवितरण गर्ने प्रमुख केन्द्रकाे रुपमा रहेको थियोे । २०६२ सालदेखि पत्रकारिता गर्दै आउने क्रममा करिब ८ वर्षअघि गुद्री बजारमा खिचेको यो तस्वीर अहिले इतिहासको एउटा महत्वपूर्ण दस्तावेज बनेको छ । उक्त तस्वीरमा एक महिलाले एउटा ढक्किमा वरिपरि माटोका भाँडामा राखिएको दही बिक्री गर्दै बसेकी दृश्य देखिन्छ । गाउँका धेरै महिलाले पशुपालन गरेर आफ्नै घरमा उत्पादन भएको दूधबाट दही बनाएर माटाेकाे भाडाे प्रयोग गरेर बजारमा बिक्री बितरण गरेर आफ्नो परिवारको पालनपोषण गर्ने गर्देथिए ।

बिगतका दिनहरुमा स्थानीयहरुले उत्पादन गरेर भरिभराउ हुने बजारमा अहिले बाहिरी उत्पादन र प्याकेटबन्द सामग्रीको प्रभाव बढेको पछि अहिले यस्तो चिजहरु लाेप हुने अवस्थामा पुगेको छ ।
घरका सदस्य तथा युवाहरू वैदेशिक रोजगार र सहरतर्फ आकर्षित हुँदा कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुनेको संख्या दिनप्रतिदिन घट्दै गएको छ। पशुपालनको लागत बढ्नु, दानाको मूल्य महँगिनु र उत्पादनको उचित मूल्य नपाइनुले धेरै किसान व्यवसायबाट विस्थापित हुने अवस्थामा पुगेका छन्। अहिले प्लास्टिक र आधुनिक प्याकेजिङले पुरानो परम्परागत सामग्रीको स्थान लिएको छ। याे तस्वीरले आज पनि केही गम्भीर प्रश्न उठाइरहेको देखिन्छ ! स्थानीय उत्पादनलाई संरक्षण गर्ने राज्यको नीति कहाँ छ ? ग्रामीण महिलाको श्रमको मूल्यांकन किन हुन सकेको छैन भन्ने चासाेकाे बिषयम समेत बनेको छ। परम्परागत पेशालाई हाट बजार जोगाउन नसक्नु निकै नै चुनाैती बनिरहेको छ ।


पत्रकारिता यात्रामा कैद गरेका हजारौं तस्वीरमध्ये गुद्री बजारको यो तस्वीरले ग्रामीण जीवनको एउटा युगकाे अन्त्य भएको महसुस भएको छ । यो केवल दही बेच्ने महिलाको तस्वीर होइन, याे इतिहास हाे जुन गाउँको अर्थतन्त्र, महिला संघर्ष र बदलिँदो समयको जीवित दस्तावेज काे रुपमा स्पष्ट देखिन्छ ।