कानेपोखरी, असार ११ गते।
विद्यानन्द चाैधरी

मोरङको कानेपोखरी गाउँपालिकाको २१औँ गाउँसभामा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बुधबार ७७ करोड ९० लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै कृषि, पशुपालन तथा सिँचाइ क्षेत्रका कार्यक्रमका लागि उक्त रकम छुट्याइएको जानकारी दिनुभयो। यो रकम कुल बजेटको २.४४ प्रतिशत बराबर रहेको छ।

गाउँपालिकाले कृषि, सिँचाइ तथा पशुपालन क्षेत्रको विकासका लागि १ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रस्तावित बजेटअनुसार कृषि तथा पशुपालनतर्फ १ करोड १० लाख रुपैयाँ र सिँचाइ कार्यक्रमका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। पूर्वाधार विकास शीर्षकमा छुट्याइएको ५८ करोड ९४ लाख रुपैयाँमध्ये ३.२२ प्रतिशत हिस्सा कृषि तथा सिँचाइसँग सम्बन्धित कार्यक्रमका लागि खर्च गरिने जनाइएको छ।

गाउँसभा अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष राजमति इङ्नामको उपस्थितिमा बजेट प्रस्तुत गरिएको हो। बजेटमा संघीय सरकारबाट ४७ करोड ८५ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेश सरकारबाट ४ करोड ४० लाख ३ हजार ७५५ रुपैयाँ तथा आन्तरिक स्रोतबाट २५ करोड ६५ लाख १६ हजार २४५ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

गाउँपालिकाका अनुसार आन्तरिक स्रोतअन्तर्गत २० करोड ६५ लाख १६ हजार २४५ रुपैयाँ चालु आर्थिक वर्षको भुक्तानी दायित्व रहेको छ।
खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यका लागि ९ करोड २६ लाख रुपैयाँ, आर्थिक विकासतर्फ ३ करोड २० लाख ९० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ५ करोड १० लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ ५८ करोड ९४ लाख रुपैयाँ तथा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
विषयगत बजेट विनियोजनमध्ये शिक्षा क्षेत्रले सबैभन्दा बढी २ करोड रुपैयाँ प्राप्त गरेको छ। बजेट प्रस्तुत हुनुअघि गाउँपालिका अध्यक्ष राजमति इङ्नामका तर्फबाट वडाध्यक्ष चरण गुरुङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।