मंसिर।८
मोरङको पथरीशनिश्चरे—१० जिरिखिम्तिमा स्थापित अलाइन्स एग्रो टुरिजम एण्ड रिसोर्ट पब्लिक लिमिडेटको आज तेस्रो वार्षिक साधारण सभा समापन भएको छ । जिरिखिम्ति स्थित आफ्नै कार्यालयमा शेयरधनीहरुलाई सम्मान लगायतको कार्यक्रम गरेर सम्पन्न गरेको हो ।
साधारण सभाको अवसरमा गोपाल पोखरेल, गंगादेवी पोखरेललाई कम्पनीले सम्मान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका संविधान सभा सदस्य चण्डीप्रसाद राई, फोनिज संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा कम्पनीको प्रबन्धक डा.देउमान सम्बाहाङ्फेले कम्पनीको वर्तमान अवस्था र भावि योजना पेस गर्नुभएको थियो ।

अलाइन्स एग्रो टुरिजम एण्ड रिसोर्ट पब्लिक कम्पनीले मुख्य सडकसँग जोडिएको आठ कट्ठा आफ्नै जग्गामा विद्युतीय चार्चिङ सेन्टर र रेष्टुरेन्ट संचालन सुरु गरेको छ । माछा पोखरी र कफी हाउस निर्माण भइरहेको छ । कम्पनीले १० बिगाहा जग्गा खरिद गरेर क्यासिनोसहितको स्टार होटल, पर्यटक भित्र्याउने गरी कृषि अनुसन्धान केन्द्र, बिजिनेस कम्प्लेक्स निर्माण गर्ने योजना रहेको योजनाकार समेत रहनु भएका प्रबन्धक डा.देउमान सम्बाहाङ्फेले बताउनुभयो ।

कम्पनीको तत्काल १ अर्बको लक्षित रहेकोमा २५ करोड चुक्ता पुँजी रहेको छ । उदेश्य सफल बनाउन ३ अर्ब लगानी जुटाउने योजना रहेको प्रबन्धक डा.सम्बाहाङ्फेले बताउनुभयो । कम्पनीमा आज २९ जना शेयर सदस्यहरु रहेका छन् । कम्पनीले पथरीशनिश्चरे १० जिरिखिम्तिबासीहरुका लागि हरेक परिवारलाई २५ कित्ता निशुल्क शेयर दिने प्रबन्धक सम्बाहाङ्फेले बताउनुभयो । जिरिखिम्तिमा ३०५ घर परिवार रहेको र लिन चाहने हरेक परिवारलाई निशुल्क शेयर दिइने बताउनुभयो । २०८० चैत्र ८ गते कम्पनी ऐन अनुसार पाइभेट कम्पनीको रुपमा दर्ता भएको अलाइन्स एग्रो टुरिजम एण्ड रिसोर्ट कम्पनी २०८३ साउन ४ गते पब्लिक लिमिडेट कम्पनीको रुपमा रुपान्तरण भएको थियो । कम्पनी हाल निर्माणको चरणमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।