कानेपोखरी, २८ असार ।

मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित करमटोलबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुईजना युवालाई पक्राउ गरेको छ।
शनिबार राती करिब ११ बजे इलाका प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय संजय ऋषिदेव र २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरेको छ।

रमाइलो प्रहरी चौकीका सब-इन्स्पेक्टर (सई) सदानन्द कुमार यादवका अनुसार उनीहरूलाई सोही गाउँका सुरज ऋषिदेवको घरमा बन्द कोठाभित्र बिक्रीका लागि प्याकिङ गर्दै गरेको र सेवन गरिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो। पक्राउ परेका दुवैजनाले सो क्षेत्रमा ‘डिलर’का रूपमा लागूऔषध खरिद-बिक्री गर्दै आएको सई यादवले जानकारी दिए।

प्रहरीले उक्त कोठाबाट लागूऔषधका साथै यसको सेवनमा प्रयोग गरिने ५ थान लाइटर र एउटा थाल समेत बरामद गरेको छ। पक्राउ परेका दुवै युवालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राती नै इलाका प्रहरी कार्यालय पथरी पठाइएको प्रहरीले जनाएको छ।