कानेपाेखरी ।

भुजेल समाज सेवा समिति, जिल्ला समन्वय समिति मोरङको ७औँ जिल्ला अधिवेशन शनिबार बेलबारीमा सम्पन्न भएको छ। अधिवेशनको बन्दसत्रबाट युवराज भुजेल जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनबाट उपाध्यक्षमा मिना भुजेल र बलबहादुर भुजेल, सचिवमा ममता भुजेल, सहसचिवमा रेखा भुजेल तथा कोषाध्यक्षमा जानुमाया भुजेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा शोभा भुजेल, झमकबहादुर भुजेल, मन्दिरा भुजेल, गोविन्द भुजेल, खगेन्द्र भुजेल, कल्पना भुजेल, दानबहादुर भुजेल र चित्रमाया भुजेल चयन भएका छन्।
बेलबारी नगरपालिकाको जनजाति सभाहलमा आयोजित कार्यक्रममा भुजेल समाज सेवा समिति सुनसरीका जिल्ला अध्यक्ष रवि भुजेलले भुजेल समुदाय स्थानीय तहमा अझै कमजोर अवस्थामा रहेको भन्दै संगठनलाई थप सुदृढ बनाएर समुदायका अधिकारका विषयमा राज्यलाई निरन्तर झक्झक्याउनुपर्ने बताए।
केन्द्रीय सह–कोषाध्यक्ष तीर्थ भुजेलले समुदायका तल्लो तहका सदस्यलाई समेत संगठनमा जोड्दै भुजेल समुदायको पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कोशी प्रदेश अध्यक्ष नारायण भुजेलले भुजेल समुदायले आत्मसमीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्ने बताए। उनले २०५१ सालमा स्थापना भएको भुजेल समाजले लामो यात्रामार्फत समुदायलाई एकताबद्ध गर्दै आएको उल्लेख गरे।त्यस्तै, केन्द्रीय उपाध्यक्ष केशरबहादुर खवासले भुजेल समुदायका हरेक घरपरिवारसम्म पुगेर संगठनात्मक एकता कायम गर्नुपर्ने बताए। उनले भाषा, पहिचान, संस्कृति तथा परम्परागत पोशाकको संरक्षण र संवर्द्धनका लागि केन्द्रीय समितिले प्रभावकारी पहल गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेलले भुजेल समुदायको समग्र विकास र उत्थानका लागि केन्द्रीय समितिले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो पहिचान र संस्कृतिको संरक्षणका लागि समुदाय स्वयं सक्रिय हुनुपर्नेमा जोड दिए।
अधिवेशनका क्रममा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमको सञ्चालन जिल्ला अध्यक्ष युवराज भुजेलले गरेका थिए।अधिवेशनमा केन्द्रीय, कोशी प्रदेश, जिल्ला तथा विभिन्न पालिका समितिका पदाधिकारी, सदस्यलगायत भुजेल समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।