विराटनगर, भदौ ८ ।
विराटनगर महानगरपालिकामा सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको एक नवजात शिशुको सकुशल उद्धार गरी आमाको जिम्मा लगाइएको छ भने घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, आज (भदौ ८ गते) विहान ०५:४५ बजेको समयमा विराटनगर महानगरपालिका वडा नं. ७ स्थित मालपोत कार्यालय अगाडि सडक किनारमा अन्दाजी २/३ दिनको, नाभि समेत नकाटिएको अवस्थामा नवजात शिशु फेला परेको थियो।
स्थानीयबाट सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शिशुको तत्काल उद्धार गरेको थियो। उद्धारपश्चात् शिशुलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको थियो।
प्रहरीले शिशुकी आमा र आफन्तको खोजतलास तथा प्रारम्भिक अनुसन्धान सुरु गरेपछि शिशुकी वास्तविक आमाको पहिचान भएको हो। पहिचान खुलेपछि विराटनगर महानगरपालिका वडा नं. १३ बस्ने २८ वर्षीया गीतादेवी महतोको जिम्मा नवजात शिशुलाई लगाइएको प्रहरीले जनाएको छ।

शिशुलाई सडक किनारमा किन र कसरी छाडियो भन्नेबारे थप विवरण खुलिसकेको छैन। यस घटनामा संलग्नताको शङ्कामा प्रहरीले थप अनुसन्धानका लागि १ जना मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभएको छ। घटनाको विषयमा थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।