भदौ १९ शुक्रबार
रबिन्द्र बराल

मोरङको दक्षिणी क्षेत्रमा कुनै समय प्रमुख नगदेबालीका रूपमा चिनिने सनपाट अर्थात् पटुवा खेती पछिल्लो समय संकटमा पर्न थालेको छ । उत्पादनमा लाग्ने लागत, मजदुरको अभाव र मेहनतअनुसारको मूल्य नपाउँदा किसानहरू सनपाट खेतीबाटै निराश बन्न थालेकाे रंगेलीका कृषक जगर्नाथ मंण्डल बताए । सनपाट खेती गर्ने किसानका लागि खेती लगाउनेदेखि तयार पारेर बजारसम्म पुर्याउने प्रक्रिया निकै झन्झटिलो निकै मेहनतपूर्ण छ । नेपाल सरकारले कृषकहरुले उत्पादन गरेको सनपाटकाे उचित मूल्य निर्धारण नगर्दे व्यपारीहरुले आफुखुशी खरिद गर्ने र कृषकहरुले सस्तो मुल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको कृषकहरुले बताएका छन । नेपाल भारतकाे खुल्ला सिमाक्षेत्रमा रहेका नेपाली कृषकहरुले भारतीय बजारमा सनपाट लगेर बिक्रीवितरण गर्ने गरेका छन । भारतीय बजारमा नेपाली रुपैयाँ प्रतिमन १२ हजार रुपैयाँ रहेकाे भएता पनि नेपाली बजारमा ६ हजार ५ सय रुपैयाँ खरिदबिक्री हुने गरेको र सस्तो मुल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ ।

बिगतका बर्षमा प्रतिमन १० हजार रुपैयाँ सम्म खरिदबिक्री भएता पनि यस बर्षभने मूल्य कमरहेकाे बताए । ब्यपारीहरुका अनुसार बाङ्लादेश बाट सनपाट आयात हुदा सस्तो पर्ने र बडिमात्रामा भित्रिने गरेको बताए । स्थानीय कृषक महादेव साहका अनुसार १० कठ्ठा जग्गाम सनपाट खेती गर्दे करिब ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेको भएता पनि वजार मुल्य नपाउदा निकै समस्या परेको बताए । सनपाट काट्ने समयमा मजदुरको अभाव र किसानका लागि अर्को चुनौती बनेको कृषकहरुले बताए । अहिले दैनिक करिब ७ सय रुपैयाँसम्म ज्याला दिनुपर्ने भए पनि गाउँघरमै पर्याप्त मजदुर नपाइने किसानहरू बताउँछन् ।सनपाट काटिसकेपछि पनि किसानको काम सकिँदैन । काटेको सनपाटको पात झार्न करिब एक साता लाग्छ । त्यसपछि स–साना मुठा बनाएर पानी जम्ने पोखरी, खोला वा खोल्सामा करिब २५ दिनसम्म कुहाउन राखिन्छ ।
करिब २५ दिनपछि पानीबाट सनपाट निकालेर सफा गरिन्छ र पुनः करिब एक सातासम्म घाममा सुकाएपछि मात्रै बजारमा बिक्री गर्न योग्य हुन्छ । सनपाट तयार गर्न धेरै समय र मेहनत लाग्छ । तर बजारमा उचित मूल्य नपाउँदा किसानको लागतसमेत उठाउन गाह्रो हुन्छ । सरकारले उत्पादनको लागत हेरेर मूल्य निर्धारण गर्नुपर्छ कृषकहरु बताउँछन् । मोरङमा कुनै समय ठूलो क्षेत्रफलमा गरिने सनपाट खेती पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको छ ।
गत वर्षहरुमा मोरङमा करिब ५ हजार ४ सय ४२ हेक्टर क्षेत्रमा सनपाट खेती भएकोमा यस वर्ष भने अघिल्लो वर्षको तुलनामा करिब ८ देखि १० प्रतिशत मात्रै क्षेत्रफलमा जुट खेती सीमित भएको किसानहरूको भनाइ छ । स्थानीय वृद्धवृद्धाका अनुसार २०४१ सालतिर मोरङमा सनपाट खेतीको अवस्था निकै उत्साहजनक थियो ।
त्यतिबेला भारतबाट समेत ठूलो संख्यामा मजदुरहरू मोरङका विभिन्न क्षेत्रमा आउने, तीन महिनासम्म घर भाडामा लिएर बस्ने र सनपाट तयार पारेर मात्रै भारत फर्किने गरेको उनीहरू सम्झन्छन् । कुनै समय मोरङका किसानको आम्दानीको महत्वपूर्ण आधार बनेको सनपाट खेती अहिले लागत, मजदुर अभाव र बजार मूल्यको समस्याले खुम्चिँदै गएको छ । किसानले उत्पादन गरेको सनपाटको उचित मूल्य सुनिश्चित गर्न नसकिए खेतीबाट किसान थप विस्थापित हुने जोखिम बढेको छ । त्यसैले स्थानीय उत्पादनको संरक्षणसँगै लागतअनुसारको न्यूनतम समर्थन मूल्य र बजार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।