कार्तिक। १८, बुधबार
रबिन्द्र बराल

मोरङको सुनवर्षी नगरपालिका–५ स्थित रमनपुर गाउँका दास (केवर) समुदायका परिवारलाई यतिबेला भ्याइनभ्याइ आफ्नो पेशा लाई निरन्तरता दिन ब्यस्त हुन थालेका छन । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै गाउँका घरआँगनमा चहलपहल बढेको छ। गाउँका १ सयभन्दा बढी घरपरिवारमध्ये धेरैजसो परिवारका सदस्य अहिले पुर्ख्यौली पेसा जोगाउँदै सनपाट (पटुवा) बाट दाम्लो, डोरी, मुखाडी र जाबी बनाउन व्यस्त छन्। तिहार नजिकिँदै गर्दा रमनपुरका घरआँगनमा एउटा छुट्टै दृश्य देख्न सकिन्छ। घरका महिला, पुरुष र बालबालिका सबै एकै ठाउँमा बसेर सनपाटलाई टेडुवाको सहायताले थोरै–थोरै गरी बाट्दै डोरी तयार पारिरहेका छन्। त्यसपछि तयार भएको डोरीबाट दाम्लो, मुखाडी र अन्य सामग्री बनाइन्छ। तयार सामग्रीलाई आकर्षक बनाउन रातो, पहेँलो र हरियो रङ लगाएर घाममा सुकाइन्छ।
तराईका अधिकांश घरमा गाईगोरु पाल्ने चलन अझै कायम छ।

पछिल्लो समय सहरी क्षेत्रमा समेत गाई पाल्ने क्रम बढेपछि तिहारको लक्ष्मीपूजाका दिन बिहान गाईको पूजा गरी साँझ लक्ष्मीपूजा गर्ने धार्मिक परम्परा छ। गाईपूजाका अवसरमा गाईलाई मिठामिठा परिकार खुवाउने, घाँटीमा नयाँ दाम्लो र मुखाडी लगाउने तथा रङ र मालाले बेहुलीझैँ सिँगार्ने चलन छ। यही परम्पराका कारण तिहारको समयमा दाम्लो र मुखाडीको माग बढ्ने गर्छ।

स्थानीय मोहान दासका अनुसार उनीहरूले साउन महिनादेखि नै तिहारका लागि आवश्यक सामग्री बनाउन सुरु गरेका हुन्। तिहारमा बजारमा माग र बिक्री बढ्ने भएकाले करिब तीन महिनाअघिदेखि तयारी गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार ४० केजी सनपाटबाट करिब तीनदेखि चार सय थानसम्म दाम्लो र मुखाडी तयार गर्न सकिन्छ। तर एउटा दाम्लो बजारमा ३० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

कुनै समय यही पेसाबाट राम्रो आम्दानी हुने गरेको स्थानीयको अनुभव छ। करिब १० वर्षअघि बजारमा प्लास्टिकका डोरीको प्रयोग व्यापक नभएका बेला सनपाटबाट बनाइएका दाम्लो प्रतिगोटा ५० देखि ६० रुपैयाँसम्म बिक्री हुने गरेको उनीहरू बताउँछन्। तर अहिले बजारमा प्लास्टिकका डोरी आउन थालेपछि परम्परागत सामग्रीको माग घटेको छ। उत्पादन गर्न लाग्ने समय र मेहनतअनुसार मूल्य नपाउँदा पेसा सञ्चालन गर्न कठिन हुँदै गएको उनीहरूको गुनासो छ।
रमनपुरमा घरका महिला र छोराछोरीले दाम्लो, मुखाडी तथा डोरी बनाउने गर्छन् भने पुरुषहरू ती सामग्री बिक्री गर्न विभिन्न बजार पुग्छन्। स्थानीय कृष्ण दासका अनुसार उनीहरू साइकलमा सामग्री बोकेर मोरङको रंगेली, विराटनगर, कर्सिया, रामचोक, दोहमना र सुनसरीको इटहरी, झुम्का, भान्टाबारीलगायतका बजारसम्म पुग्ने गरेका छन्। त्यस्तै लेटाङ, पथरी, झापाको दमक, चारआली, बिर्तामोडदेखि सिराहा र जनकपुरसम्म पनि बिक्रीका लागि पुग्ने गरेको उनले बताए।
दिनभरि मेहनत गरेर सामग्री बनाउँदा पनि उचित मूल्य नपाएको हिराकुमारी दासको गुनासो छ। परिवारका सबै सदस्यले काम गर्दा समेत घरखर्च चलाउन मुस्किल हुने गरेको उनी बताउँछिन्।

यही पुर्ख्यौली पेसाबाट सयौँ परिवारले आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। तर सबैको अवस्था समान छैन।
यही पेसाबाट हुने आम्दानीले चार सदस्यीय परिवारको गुजारा चलाउँदै आएका छन्। अहिले परिवारको दैनिक छाक टार्न उनीसहित घरका सबै सदस्य दाम्लो र मुखाडी बनाउन तथा बिक्री गर्न जुट्ने गरेका छन्।
रमनपुरका यी परिवारका लागि दाम्लो, डोरी र मुखाडी बनाउनु केवल तिहारमा गरिने व्यापार मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पहिचान र जीविकोपार्जनको आधार पनि हो। तर बजारमा प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग, उत्पादन लागत र मेहनतअनुसार मूल्य नपाउनु तथा परम्परागत पेसाप्रति सरकारी बेवास्ताले यो सीप संकटमा पर्दै गएको छ।

तिहारमा गाईलाई सिँगार्न प्रयोग हुने दाम्लो र मुखाडीले बजारमा स्थान पाइरहँदा ती सामग्री बनाउने हातहरूको जीवन भने अझै संघर्षपूर्ण छ। चाडपर्वमा परम्परागत सामग्रीको खोजी गर्ने समाजले ती सामग्री बनाउने श्रमिक समुदायको श्रम र सीपको मूल्य पनि बुझ्न आवश्यक छ। स्थानीय सरकारले यस्ता परम्परागत सीपको संरक्षण, उत्पादनको बजारीकरण र उचित मूल्य सुनिश्चित गर्न सके रमनपुरका सयौँ परिवारको पुर्ख्यौली पेसा जोगिनुका साथै स्थानीय रोजगारीको आधारसमेत बन्न सक्छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।