मन्त्री जीवन आचार्यद्वारा पुलको उद्घाटन, ६ करोड ५३ लाख रुपैयाँभन्दा बढी लागत
मोरङ ।
विष्णु राजबंशी

मोरङको रतुवामाई नगरपालिका–स्थित डाम्राभिट्टा बजार पूर्व झुल्काडोवा जोड्ने सडकमा निर्माण गरिएको कट्नु खोला पुल निर्धारित समयभन्दा १० महिना अगावै सम्पन्न भएको छ। निर्माण सम्पन्न पुलको भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशका मन्त्री जीवन आचार्यले एक समारोहबीच उद्घाटन गरेका छन्।

सम्झौताअनुसार २०८४ साल साउन १८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने पुल २०८३ साल असोज २० गते नै निर्माण सम्पन्न भएको हो। २०८२ साल साउन १० गते निर्माण सम्झौता भएको उक्त पुल समयअगावै सम्पन्न भएपछि निर्माण व्यवसायीको कामको प्रशंसा गरिएको थियो।उद्घाटन समारोहमा मन्त्री आचार्यले निर्धारित समयभन्दा अगावै गुणस्तरीय रूपमा निर्माण कार्य सम्पन्न हुनु विकास निर्माण क्षेत्रका लागि उदाहरणीय भएको बताए। उनले समयमै र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

पुल निर्माणका लागि भ्याट तथा पीएससहित कुल ६ करोड ५३ लाख १७ हजार ६ सय २६ रुपैयाँ १३ पैसा भुक्तानी भएको जनाइएको छ। पुल सञ्चालनमा आएसँगै डाम्राभिट्टा बजार पूर्व झुल्काडोवा तथा आसपासका स्थानीय बासिन्दालाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा पुल निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रेमबहादुर अधिकारी र स्वर्गीय टेकबहादुर खत्रीप्रति सम्मान व्यक्त गरिएको थियो। साथै निर्माणमा योगदान पुर्याउने पूर्वाधार विकास कार्यालय मोरङका इन्जिनियर सत्यनारायण साह, किशोर पुरी, श्याम बानियाँ, माधव माझी तथा निर्माण व्यवसायी अतनकुमार बुढाथोकीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्री गणेशप्रसाद उप्रेती, मन्त्रालयका सचिव मिलन आचार्य, पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजनल इन्जिनियर खरानन्द ईसरलगायत जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।कार्यक्रम पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजनल इन्जिनियर खरानन्द ईसरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विमल मान राईले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।