मेनु

आस्था र विश्वासको पर्व छठ :  अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिइ मनाउदै ।थारू पाेर्टल

आस्था र विश्वासको पर्व छठ :  अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिइ मनाउदै ।थारू पाेर्टल

कानेपोखरी, मोरङ ।कार्तिक।२९।

विद्यानन्द चाैधरी 

लोकआस्था, धार्मिक विश्वास, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको अनुपम पर्व हो छठ। तराई–मधेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छठ पछिल्लो समय सबै समुदायमा लोकप्रिय बन्दै गएको छ।मोरङको कानेपोखरी गाउँपालिकामा पनि छठ पर्व विशेष उत्साह र भक्तिभावका साथ मनाइन्छ। यहाँका चिसाङ खोला, कारीकोशी खोला, डाँस खोला, मरिया खोला तथा विभिन्न नहरहरूमा समेत व्रतालुहरू भेला भएर छठ पूजा गर्ने गर्छन्। पर्व नजिकिँदै जाँदा जलाशय तथा घाटहरूको सरसफाइ, सजावट र व्यवस्थापनमा स्थानीयवासी जुट्ने गर्छन्।

सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै कठोर व्रत बस्ने परम्परा छ। चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्व नहाय–खायबाट सुरु हुन्छ। दोस्रो दिन खरना मनाइन्छ भने तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिन्छ।

छठ पर्वको सबैभन्दा आकर्षक दृश्य नदी, खोला, पोखरी तथा नहरका किनारमा देखिन्छ। व्रतालुहरूले बाँसका ढाकी, नाङ्लो र सुपलीमा ठेकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायत पूजासामग्री सजाएर घाटमा पुग्छन्। साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदा छठका पारम्परिक गीत र भजनले वातावरण भक्तिमय बन्ने गर्छ। भोलिपल्ट बिहानै पुनः घाटमा भेला भएर उदाउँदो सूर्यलाई अर्घ्अर्पण गरिन्छ।

छठ पर्व धार्मिक आस्थासँगै सामाजिक एकता र सद्भावको प्रतीकसमेत हो। जात, धर्म र समुदायको सीमाभन्दा माथि उठेर स्थानीयवासी एकजुट भई घाट सफा गर्ने, सजाउने र पूजाको व्यवस्थापन गर्ने परम्पराले आपसी भाइचारा र सहकार्यलाई बलियो बनाएको छ।

यस पर्वले स्वच्छता र वातावरण संरक्षणको सन्देशसमेत दिन्छ। नदी, खोला र नहरका किनारमा पूजा गरिने भएकाले जलस्रोतको सरसफाइ र संरक्षणप्रति समुदायलाई सचेत गराउने अवसर पनि छठले प्रदान गर्छ।

समयसँगै छठ पर्व मनाउने शैलीमा परिवर्तन आए पनि यसको मौलिकता र धार्मिक महत्त्व भने कायमै छ। परदेश तथा टाढा रहेका परिवारका सदस्यसमेत छठ मनाउन घर फर्किने हुँदा यो पर्व पारिवारिक पुनर्मिलनको अवसर पनि बनेको छ।

अस्ताउँदो सूर्यलाई अर्घ दिएर उदाउँदो सूर्यको प्रतीक्षा गर्ने छठ पर्वले जीवनमा सुख–दुःख दुवैलाई सहज रूपमा स्वीकार गर्दै आशा, धैर्य र सकारात्मकताको बाटोमा अघि बढ्न प्रेरित गर्छ। त्यसैले छठ केवल पूजा र व्रतमा सीमित पर्व नभई आस्था, संस्कृति, प्रकृतिप्रेम र सामाजिक एकताको जीवन्त उत्सव बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।