कञ्चनपुर ।

सुदूरपश्चिमको कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका–४ निवासी आईशा चौधरी विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी Google मा पूर्णकालीन सफ्टवेयर इन्जिनियर पदमा नियुक्त भएकी छन्। उनको यस उपलब्धिले परिवार मात्र होइन, सिंगो कञ्चनपुर र थारु समुदायलाई गौरवान्वित बनाएको छ।
बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष लक्ष्मी नारायण चौधरीकी सुपुत्री आईशाले कडा मेहनत, लगनशीलता र निरन्तर प्रयासका कारण यो सफलता हात पारेकी हुन्। केही समयअघि उनले Google मै सफ्टवेयर इन्जिनियर इन्टर्नका रूपमा काम गर्ने अवसर पाएकी थिइन्। इन्टर्नशिपका क्रममा देखाएको उत्कृष्ट कार्यक्षमता, प्राविधिक दक्षता र टिमवर्कका आधारमा उनलाई कम्पनीले पूर्णकालीन पदको प्रस्ताव गरेको हो।
सामान्य पृष्ठभूमिबाट विश्वकै अग्रणी प्रविधि कम्पनीसम्मको यात्रा सहज थिएन। उनले अध्ययन र सीप विकासमा निरन्तर मेहनत गर्दै आफ्ना आमा–बुबाको सपना साकार पारेकी छन्।
उनको सफलता विशेष गरी ग्रामीण क्षेत्रका विद्यार्थी तथा युवा पुस्ताका लागि प्रेरणादायी बनेको छ। दृढ इच्छाशक्ति, सही मार्गदर्शन र निरन्तर प्रयास भए विश्वका जुनसुकै मंचमा पनि नेपाली युवाले आफ्नो पहिचान स्थापित गर्न सक्छन् भन्ने सन्देश आईशाको उपलब्धिले दिएको छ।